विद्यार्थीको सिकाइ स्तर नबढ्नुमा शिक्षकहरुनै दोषी

अनलाइन दर्पण 2018-04-21
img

 शिक्षकहरूको कम मिहिनेतका कारण विद्यार्थीको सिकाइ स्तर खस्किएको विज्ञहरूले बताएका छन्। सरकारकै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले बिहीबार सार्वजनिक गरेको विद्यार्थी सिकाइसम्बन्धी नतिजामा पाँच वर्षअघिको सिकाइ स्तर झन् खस्कँदो देखाएको थियो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

केन्द्रले कक्षा ८ मा अध्ययनरत विद्यार्थीमध्ये अनिवार्य गणित, नेपाली र विज्ञान विषयको सिकाइस्तरबारे परीक्षा गरेर नतिजा विश्लेषण गरेको थियो। शिक्षाको गुणस्तर उकास्ने उद्देश्यले शिक्षा मन्त्रालयले ६ बर्से विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) सकिएपछि सन् २०२२ सम्म जारी रहने गरी यस्तै अर्को कार्यक्रम विद्यालय क्षेत्र सुधार योजना(एसएसडीपी) सञ्चालनमा ल्याएको छ। अन्य सानातिना थुप्रै अभियान पनि सरकारले सञ्चालन गरेको छ।

शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला स्तर खस्कनुमा विद्यार्थी र शिक्षक दुवैको कमजोरी देख्छन्। ‘शिक्षकले पढाउन नजानेर होइन, मिहिनेत कम गरेर नतिजा कमजोर भएको हो। अहिलेकै शिक्षकले पनि अलि फरक तरिकाले सोच्ने हो भने नतिजा बढाउन सकिन्छ कोइराला भन्छन्, ;नतिजाको कुरा गर्दा हाम्रा शिक्षक मैले १० वर्ष र १५ वर्ष पढाएँ भनेर दाबी गर्छन् तर १५ वर्षअघिको विद्यार्थी र अहिलेका विद्यार्थीमा धेरै परिवर्तन आएको छ भन्ने कुरा जान्दैनन्।

समयअनुसार सोचाइ र मिहिनेत स्तर पनि बदल्नुपर्छ भन्ने भावना उनीहरूमा नहुँदा समस्या देखिएको हो। सिकाइस्तर सुधार्न विद्यार्थीमा पनि परिवर्तन ल्याउनुपर्ने कोइराला बताउँछन्, विद्यार्थी घरमा मोबाइल र ल्यापटप मज्जाले चलाउँछन् तर घरमा जानेको कुरा पढाइमा पनि प्रयोग गर्न सकिन्छ भनेर उनीहरूलाई सिकाउने मान्छे भएन। हामीले पढ्ने भनेको किताबमात्रै हो भन्ने उनीहरूको बुझाइ बदल्नुपर्छ।’

अर्का शिक्षाविद् प्राडा बासुदेव काफ्ले सिकाइस्तर बढ्न नसक्नुमा शिक्षक नै मुख्य दोषी रहेको बताउँछन्। शिक्षक तालिमप्राप्त भए पनि तालिममा सिकेको सीप कक्षाकोठामा प्रयोग गर्दैनन्, उनीहरूले पढाएका छन् कि छैनन् भनेर निरीक्षण गर्न खटाइएका विद्यालय निरीक्षक (विनि) ले पनि चासो नदिँदा समस्या आएको हो काफ्ले भन्छन्। 

निजी विद्यालयमा विद्यार्थी बढ्दै जाँदा सामुदायिक विद्यालयमा घट्दै जानु, सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीले अभिभावकको हेरचाह नपाउनु, समयअनुसार पाठ्यक्रम परिमार्जन नहुनुलगायत कारण सिकाइस्तर नसुध्रेको काफ्ले दाबी गर्छन्। शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा कमसेकम दुई सय २० दिन विद्यालय खुल्नुपर्छ। 

त्यसमध्ये एक सय ८० दिन पढाइ हुनुपर्छ। तर, अध्ययनअनुसार कुनै ठाउँमा सय दिन पनि पढाइ भएका छैनन्। शिक्षकहरू राजनीतिक दलको झण्डा बोकेर पढाउनभन्दा त्यता सक्रिय रहेकाले शैक्षिकस्तर खस्केको हो। त्यस्ता दलीय झण्डा बोकेर हिँड्ने शिक्षकलाई कसैले कारवाही गर्न सक्दैन भन्ने मानसिकता रहनुका कारण पनि स्तर खस्केको काफ्ले बताउँछन्।

शिक्षा मन्त्रालयका सचिव खगराज बराल स्तर नसुध्रनुमा शिक्षकलाई नै दोषी देख्छन्। मुलुक संघीय संरचनामा गएसँगै माध्यमिक शिक्षाको स्तर स्थानीय तहमा गएको छ। अब स्थानीय तहलाई सक्रिय बनाउन सकेमात्र शिक्षाको स्तर सुध्रने उनी बताउँछन्। शिक्षाको अहिलेसम्मको लगानीको प्रतिफल प्रभावकारी देखिएन। स्थानीय तहसँग समन्वय गरेर विशेष अभियान चलाउनुपर्छ बराल भन्छन्।

सम्बन्धित समाचार

Advertisement