नेपाली भाषामा पहिलो पटक गणित कोश प्रकाशित

अनलाइन दर्पण 2018-10-03
img

काठमाडौं । त्रि.वि.सानोठिमी क्याम्पसका गणित शिक्षाका प्राध्यापक महेश्वरप्रसाद उपाध्यायद्वारा सम्पादित गणितकोश हालै प्रकाशित भएको छ ।

यो नेपाली गणित कोश शब्दकोश, अर्थकोश, अवधारणा कोश, इतिहास कोश, गणितज्ञकोश , नेपाल कोश आदिको मिश्रित रूप हो । यसलाई अंग्रेजीमा चाहिँ नेपाली म्याथेम्याटिकोपेडिया भनिएको छ ।

यो कोश विद्यालय तहदेखि उच्च तहसम्म गणित र गणितजन्य विषयहरू पढने नेपाली भाषी पाठक र अध्येताहरूका लागि उपयोगी हुने कोशकारको भनाइ रहेको देखिन्छ । यसमा यथासम्भव नेपाली भाषाका पदावलीहरू र तिनको समतुल्य रूपको प्रयोगलाई प्राथमिकतामा राखिएको छ ।

अङ्ग्रेजी भाषा नजानेकै कारणले गणितको पठनपाठनमा सकस वा कठिनाइ भोग्नु परेकाहरूको अप्ठ्यारोलाई थोरै मात्र भएपनि होलो पार्न सकिन्छ कि भन्ने कोशका सम्पादक प्राध्यापक उपाध्यायको बिचार रहेको पाइन्छ । अहिले यो कोश नेपाली भाषामा लेखिएको पहिलो गणित कोश बन्न पुगेको छ ।

यसमा सङ्गृहित पदावली–प्रविष्टिहरू विशुद्ध गणितका मात्र नभएर गणितको प्रयोग हुने विषयहरू विज्ञान, भूगोल, जनसङ्ख्याअध्ययन, व्यापारवाणिज्य,अर्थशास्त्र,समाजशास्त्र,खगोल ज्योतिष, प्राच्य गणित आदि विषय र विधाका पनि छन् ।

प्रविष्टिहरूको चयनमा विशुद्ध गणितको कक्षागत आवश्यकताभन्दा व्यावहारिक र प्रयोगप्रचलनजन्य आवश्यकतालाई ध्यानमा राखिएको छ । गणित पढनेका लागि मात्र होइन गणितको प्रयोग हुने समाजशास्त्रका विभिन्न विधाहरूका लागि समेत उपयोगी हुन सकोस भनी प्रयोगात्मक गणितका क्षेत्रहरूसमेत समेट्ने प्रयास भएको छ ।

यसका साथै पदावलीहरूको अर्थक्षेपण गर्दा अवधारणामूलकका साथै त्यसको इतिहास र विकासक्रमलाई पनि समेटिएको देखिन्छ । यसमा ५००० भन्दा बढी प्रविष्टिहरू रहेका छन् । गणितका विद्यार्थीहरूका लागि अग्रज गणितज्ञहरूका जीवन र सङ्घर्ष प्रेरणाप्रद हुन सकून भनी नाम चलेका राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिका ३०० भन्दा बढी गणितज्ञहरूको परिचय र संक्षिप्त जीवनी र गणितीय कार्य पनि यसमा समावेश गरिएको छ ।

यसका साथै गणितका विभिन्न सुत्रहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय नाप प्रणाली र तिनको एक पद्धतिबाट अकोृ पद्धतिमा रुपान्तर गर्ने तरिका, गणितका विभिन्न विधामा विद्यावारिकि गरेका गणितज्ञहरूको सुचि , नेपालका विभिन्न राष्ट्रिय भाषाका गणना तालिका पनि यस कोशको परिशिष्टमा समावेश गरिएको देखिन्छ ।-कालीगण्डकीखबर

सम्बन्धित समाचार

Advertisement