नीति तथा कार्यक्रमले ९० लाख विद्यार्थीलाई सम्बोधन गर्न नसकेको शिक्षाविद्हरूको ठहर

अनलाइन दर्पण 2020-05-17
img

कोरोना भाइरसका कारण असहज अवस्थामा रहेका विद्यालयदेखि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले नसमेटेको शिक्षाविद्हरूले आरोप लगाएका छन् ।

सामान्य परिस्थितिमा जस्तै शिक्षामा केन्द्रित नीति तथा कार्यक्रम आएको उनीहरूको ठहर छ । 

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले देशभरमा बाल विकासदेखि उच्च शिक्षा अध्ययन गर्नेसम्म गरी करिब ९० लाख विद्यार्थी रहेको र यो अवस्थामा उनीहरूलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रममा केही नआउनु दुःखको विषय भएको बताए । 

शिक्षा पत्रकार सञ्जाल नेपालले अनलाइनमार्फत शनिबार आयोजना गरेको अन्तरक्रियामा शिक्षाविद् वाग्लेले विद्यार्थी असहज महसुस गरेको अवस्थामा सरकारले पढाइ भइरहेको र सामान्य परिस्थितिमा जस्तै गरी नीति कार्यक्रम ल्याएको बताए । 

अहिले धेरै विद्यालयमा क्वारेन्टाइन बनाइएकोलाई कसरी सामान्य बनाइन्छ सम्बोधन नभएको, अनलाइन शिक्षा आवश्यक भए पनि विद्यार्थीसँग ल्यापटप नहुँदा कसरी सम्भव हुन्छ भने विषयलाई समेत नसमेटिएको उनले बताए । 

उच्च शिक्षामा महत्वाकांक्षा राखे पनि कुल बजेटको एक प्रतिशत दिएर कार्यान्वयन सम्भव नभएको उनको ठहर छ । 

शिक्षा ऐनसमेत ल्याउन नसकेको सरकारले ल्याएको नीति कार्यक्रम हावादारी रहेको वाग्लेको आरोप छ । 

अर्का शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले माध्यमिक विद्यालयहरूलाई प्रविधिमा जोड्न खोजेको सकारात्मक पक्ष भएको र त्योबाहेक अरू निरन्तरता मात्र रहेको बताए । 

उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएका शिक्षासँग जोडिएका विषय सिद्धान्त र व्यवहारमा अलमल रहेको बताए । 

साक्षर नेपाल घोषणा गर्ने विषय पटकपटक आए पनि कार्यान्वयन नहुनु लज्जास्पद भएको बताए । 

जनवादी शिक्षा र समाजवाद परिकल्पना गर्नेहरूले गरिब र मजदुरका छोराछोरीको शिक्षाबारेमा चिन्ता नगरेको उनले बताए । 

शिक्षा विभागका पूर्वमहानिर्देशक बाबुराम पौडेलले जोखिम मोल्न सक्ने व्यक्तिको कमी हुँदा परिवर्तन हुने खालका नीति तथा कार्यक्रममा नआउने गरेको अनुभव सुनाए । 

निरन्तरताले जोखिम कम हुने भएकाले त्यस्तैखाले कार्यक्रम मात्र आउने उनको अनुभव छ । 

उनले भने, ‘पेलेर जान सक्ने शक्तिशाली व्यक्ति चाहिँदोरहेछ ।’ अहिले परिवर्तनकारी नीति तथा कार्यक्रम आउने अपेक्षा रहेकोमा नआएको उनले बताए । 

सम्बन्धित समाचार

Advertisement