भक्तपुर, १ मङ्सिर २०८१ । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध विद्यालयहरुमा १ दशक बढी समय निरन्तर अध्यापन गर्ने ८३ जना शिक्षकहरुलाई “दीर्घ शिक्षा सेवा” सम्मान बाट सम्मानित गरिएको छ ।
नेसनल प्याव्सन भक्तपुरकाे नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा शुक्रबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले दीर्घ शिक्षा सेवा सम्मान पत्र प्रदान गरेका थिए भने नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले दोसल्ला ओढाएका थिए ।
समाराेहका प्रमुख अतिथि रहेका मन्त्री थापाले शिक्षा सेवामा समर्पित शिक्षकहरुको थप सक्रियता र ईमान्दारीताको कामना गर्दै शिक्षकलाई सम्मान गरेकोमा नेसनल प्याव्सन भक्तपुप्रति आभार प्रकट गरेका थिए । मन्त्री थापाले आफू सूर्यविनायक क्षेत्रको जनप्रतिनिधि पनि भएकोले यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, समाज र विकास निर्माण लगायतमा सदैव सहयोग गर्ने प्रष्ट पार्दै विद्यालयमा स्वास्थ्य शिविर संचालन गरे आफ्नो सहयोग रहने आश्वासन दिए ।
स्वास्थ्य मन्त्री भए देखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्यको जिम्मा इमानदारी पूर्वक बहन गरिरहेको र आफ्नो कार्यकाल सअविस्मरणीय बनाउन लागिपरेको उनले जानकारी दिए ।
नेसनल प्याव्सनको जिल्ला अध्यक्ष संजय खड्काको सभापत्तित्वमा सम्पन्न नवौं वार्षिक साधारण सभाको उदघाटन समारोहको नेसनल प्याव्सनका जिल्ला सचिव कुमार थापामगरले सभा संचालन गरेका थिए भने उक्त कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवांकाे र धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष रामप्रसाद खाताखोले गरेका थिए ।
कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, स्टेसनरी ब्यवसायी संघका जिल्ला सचिव महेश थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हिज्जे प्रतियोगिता ऋतम्भरा पाठशालाले, चित्रकला यूनिटी स्कुलले र नृत्यकला स्टुडेन्ट एकेडेमीले आयोजना गरेकाले ३ वटा स्कुलाई नै प्रशंसा पत्र वितरण गरिएको थियो । साथै सदस्य विद्यालय सरस पाठशालाका प्रिन्सिपल ईन्द्र प्रसाद खाइतूलाई पनि संस्थाको तर्फबाट “ईन्द्रीय रगंहरु” पुस्तक प्रकाशन गरेकोमा बधाई एवं सम्मान प्रदान गरिएको थियो ।
नवौं वार्षिक साधरण सभाको बन्द सत्रले कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरिएको अध्यक्ष खड्काले बताएका छन् । साधारण सभाले अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गर्नुका साथै सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढिकरणको लागि प्रस्तावहरु पारित गरेको उनले जानकारी गराए ।