जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको परिचय बनाउदै त्रि-पद्म विद्याश्रम मा.बि पुरस्कृत

अनलाइन दर्पण 2024-12-25
img

ललितपुर ।  संख्यात्मकरूपमा निजी विद्यालयहरुको बाहुल्यता रहेको ललितपुरमा सामुदायिक विद्यालयहरूको प्रतिष्ठा बढाउँदै, त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले उल्लेखनीय सफलता प्राप्त गर्दै पुरस्कृत भएको छ । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसका  अबसमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयहरूमध्ये अग्रणी स्थान हासिल गर्दै, शैक्षिक क्षमताको उत्कृष्टता प्रदर्शन गरेर यस वर्ष उत्कृष्ट नतिजा ल्याएबापत महानगरपालिकाद्वारा पुरस्कृत भएको हो ।  

केही दिनअघि भएको विशेष कार्यक्रममा सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली र नगर प्रमुख चिरिबाबु महर्जनले विद्यालयका प्रधानाध्यापक  हरिप्रसाद खनाललाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।  विद्यालयले नगद पुरस्कार स्वरूप रु ७ लाख ५० हजार रुपैया प्राप्त गरेको छ 
।  त्यस्तै विद्यालयकी छात्रा प्रिन्सी कर्णलाइ व्यक्तिगत रूपमा रु २ लाख सहित सम्मान गरिएको छ । उनले यसपालिको एसईई परीक्षामा ३.९६ जीपीए हासिल गरी उत्कृष्ट नतिजा ल्याएर विद्यालयलाई गौरवान्वित बनाएकी थिइन् ।   

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालले यो सफलता सम्पूर्ण शिक्षकहरूको अथक मेहनत, विद्यार्थीहरूको लगनशीलता, र अभिभावकहरूको निरन्तर समर्थनको परिणाम भएको बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्व र शिक्षकमण्डलीको समर्पणको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रतिबद्ध रहेको घोषणा गर्नुभयो । यसपालि उत्कृष्ट नतिजा ल्याएर पुरस्कार पाएपछि शिक्षक, अभिभावक र विद्यार्थीमा अझ बढी सक्रियता बढेको प्रअ खनालको भनाइ छ । 

अतिरिक्त क्रियाकलाप इन्चार्ज पवन कोइरालाका अनुसार नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदा यस विद्यालयका विद्यार्थीले राम्रो नतिजा हासिल गरिरहेका छन् । विद्यालयको यो सफलता शिक्षक, विद्यार्थी र व्यवस्थापन पक्षको सहकार्यको प्रतिफल हो । उनले भने यस उपलब्धिले विद्यालयको शैक्षिक प्रतिष्ठा केवल ललितपुरमा मात्रै नभएर राष्ट्रियस्तरमै स्थापित गरेको छ ।

त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले सामुदायिक विद्यालयहरूको लागि प्रेरणाको स्रोतका रूपमा नयाँ उचाइ कायम गरेको छ । विद्यालयले भविष्यमा पनि शैक्षिक उत्कृष्टताका नयाँ आयाम स्थापित गर्दै सामुदायिक शिक्षा क्षेत्रको गौरवलाई थप उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ।
यस ऐतिहासिक उपलब्धिका लागि विद्यालयका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना।

सम्बन्धित समाचार