वर्षौंदेखि अस्थायी रूपमा कार्यरत शिक्षकहरुलाइ स्थायी हुनका लागि बाटो खुल्यो

अनलाइन दर्पण 2017-08-03
img

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि आन्तरिक परीक्षा लिने तय भएसँगै वर्षौंदेखि अस्थायी रूपमा कार्यरत शिक्षकका लागि स्थायी हुने अवसर खुला भएको छ । शिक्षा ऐन (आठौं संशोधन)ले अस्थायी शिक्षकलाई दिएको उल्लिखित सुविधासहितको स्वेच्छिक अवकाश वा सेवा निरन्तरताका लागि प्रतिस्पर्धामध्ये एक रोज्नुपर्ने विकल्पअनुसार यो अवसर प्राप्त भएको हो ।

आयोगले आउँदो भदौ ३ गतेका लागि आन्तरिक परीक्षाको मिति तय गरेको छ । गतवर्षको असारमा प्रमाणीकरण भएको ऐनका आधारमा २०४९ अघिदेखि २०७२ सम्म नियुक्ति लिएका २६ हजार अस्थायी शिक्षक यो परीक्षामा सहभागी हुन पाउने भएका हुन्, जसका लागि आयोगले १९ हजार २ सय ६५ दरबन्दीमा विज्ञापन गरेकोमा १५ हजार ६ सय ९० अस्थायी शिक्षक परीक्षामा सामेल हुने भएका छन् । यसमध्ये करीब ९ हजार योग्य शिक्षक स्थायी हुनेछन् । सुविधासहितको स्वेच्छिक अवकाश रोजेका ९ हजारभन्दा बढी शिक्षक भने ऐनमा गरिएको व्यवस्थाअनुसारको सुविधा लिएर बिदा हुनेछन् । यसरी सुविधा लिएर बाहिरिनेमा २०६१ सालभन्दा अघि सेवा प्रवेश गरेका प्राथमिक तहका ७ हजार २ सय ४ जना, निमाविका १ हजार १ सय ९२ जना र माविका ८ सय ८८ जना छन् ।

आफूहरूमाथि अन्याय गरिएकाले ऐनमै सुधार गरी व्यवस्थापन गरिनुपर्ने माग अस्थायी शिक्षकहरूले राख्दै आएका थिए । पहिले सबैका लागि प्रतिस्पर्धाको बाटो खुला राख्नुपर्ने र प्रतिस्पर्धामा जान नचाहने तथा प्रतिस्पर्धाबाट असफल हुनेहरूलाई सुविधासहितको अवकाशको व्यवस्था गर्नुपर्ने माग अस्थायी शिक्षकको थियो । तर, ऐनमा भएको व्यवस्थाअनुरूप नै प्रक्रिया अघि बढाइएको छ । वर्षौंदेखि कार्यरत अस्थायी तथा करारमा नियुक्त शिक्षकका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न नसकिएको तर्क सम्बन्धित निकायबाट आउने गरेको छ । पूर्णरूपमा योग्यता भएका स्थायी शिक्षक भएपछि सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउनेमा विज्ञहरू पनि एकमत छन् ।

आयोगले अस्थायी शिक्षकका लागि लिने परीक्षा सकिएपछि तत्कालै स्थायी शिक्षक पदपूर्तिका लागि खुला प्रतिस्पर्धाका लागि विज्ञापन खोल्ने भएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाबाट गरी विद्यालय शिक्षा सेवामा प्रवेश गर्ने ३० हजारभन्दा बढी स्थायी शिक्षकका कारण विद्यालय शिक्षामा आमूल सुधार हुने सरोकारवाला निकायको भनाइ छ । तर, शिक्षाविद् विद्यानाथ कोइराला भने यसमा ढुक्क छैनन् । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको व्यवस्थापन भनी अपरिपक्व तरीका अपनाएको उनको आरोप छ । ‘आन्तरिक परीक्षा भनेर कमजोरलाई पनि पास गराउने नीति हुन सक्ने आशङ्का एकातिर छ,’ उनी भन्छन, ‘त्यसैगरी अर्कातिर अवकाश वा परीक्षामा सामेल भन्ने जस्तो अप्ठ्यारो विकल्प दिएर विरोध निम्त्याइएको छ ।’ ऐन आएदेखि नै अस्थायी शिक्षकलाई उनीहरूले चाहेजति पटक परीक्षामा सामेल हुन दिई त्यसपछि परीक्षा त्यागेमा सुविधासहित अवकाशको अवसर चाहे पनि दिनुपर्ने तर्क शिक्षाविद्हरुले दिदै आएका छन् । 
तर, उल्लिखित व्यवस्था परिवर्तन नहुँदा परीक्षामा सामेल भएर असफल भए पाउने अवसरबाट पनि वञ्चित हुनुपर्ने कारण १ तिहाइभन्दा बढी अस्थायी शिक्षकले सोझै अवकाश रोजेका छन् । त्यति मात्र होइन, उनीहरू परीक्षा सार्नुपर्ने, आफूहरूमाथि अन्याय भएको जस्ता गुनासा लिएर विभिन्न निकाय धाइरहेका छन ।

सम्बन्धित समाचार

Advertisement