भक्तपुर, २७ भदौ । मध्यपुरथिमीस्थित चक्रवर्ती हवी नर्सिङ कलेजले कुनैपनि स्वीकृति नलिई अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको सूचना आएपछि तत्काल अवैधानिक रुपमा लिएको विद्यार्थी भर्ना रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले निर्देशन दिएका छन् ।
कलेजले अदालतको आडमा मापदण्ड विपरित र गैरकानुनी ढंगबाट सिटिइभिटीको अनुमतिबिनानै आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेको थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत कलेजले विद्यार्थी भर्ना गरेपछी चक्रवर्ती नर्सिङ कलेजलाई तत्काल अवैधानिक रुपमा लिएको विद्यार्थी भर्ना रोक्न प्रमुख जिल्ला अधिकारीले यस्ताे निर्देशन दिएका छन् ।
कलेजले आइतबार प्रति विद्यार्थी दुई लाख ५० हजार अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गरेको विद्यार्थीहरुले नै बताएका छन् ।
कलेजमा १ सय ३७ विद्यार्थीले आवेदन दिएकोमा ३७ जनालाई भर्ना गरिएको र तीनवटा सिट छात्रवृत्तिका लागि राखिएको कलेजको लेखा शाखाले जनाएको छ । सिटिइभिटीसँग अनुमति लिए/नलिएको आफूलाई केही जानकारी नभएको कलेजको लेखाशाखाका कर्मचारी विक्रम देउजाले बताए ।
कलेजले गएको दुईवर्षदेखि अदालतबाट अन्तरिम आदेश ल्याएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउदै अाएकाले यसवर्ष पनि सिटिइभिटीविरुद्ध अदालत जाने तयारी भैरहेको बताईएको छ ।
कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गराएर ठगी गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै विद्यार्थीनै आक्रोशित भएका छन् । उक्त कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरण समेत नभएको सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए ।
सिटिइभिटीको नियमअनुसार हरेकवर्ष विद्यार्थी भर्नाअघि कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार ठीक भए/नभएको, शिक्षक गुणस्तरीय भए/नभएको, आफ्नै अस्पताल वा एकसय शय्याका अरु अस्पतालसँग प्रयोगात्मक शिक्षाका लागि अनुमति लिए/लिएको अनुगमन गरेर सिटिइभिटीको मापदण्ड पूरा गरेकालाई मात्रै विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गर्ने र नवीकरण गर्ने नियम रहेको बाग्ले बताउँछन् ।