दुर्गम गाउँको सामुदायिक विद्यालयमा लोभलाग्दो चमत्कार

अनलाइन दर्पण 2017-12-28
img

काठमाडौं उपत्यका या अन्य प्रमुख सहरको महंगो र झकिझकाउ बोर्डिङ स्कूलभन्दा शानदार छ डहु माध्यमिक विद्यालय । गुणस्तरको त झन कुरै नगरौं । सस्तो महंगाको कुरा गर्ने हो भने यो निजी बोर्डिङ होइन, सामुदायिक विद्यालय हो ।

टाढाबाटै हेर्दा सुन्दर र रंगरोगन गरिएको पक्कि घर । भित्र छिर्ने वित्तिकै सफा कम्पाउण्ड अनि सुन्दर बँगैचा । भवनका कौसीमा फूलका गमला । गमलामा ढकमक्क फूल फुलेका । गेटबाट बाहिरै जुत्ता चप्पल खोल्नु पर्ने । भित्र छिर्न प्यासेजमै रातो कार्पेट बिच्छ्याइएको छ । कुनै हल्ला छैन, बाहिर कोही देखिदैन, शान्त वातावरण छ ।

यस्तो छ डुहु मावि । रामेछापको दुर्गम गाउँ सुनापति गाउँपालिका–४ वेथानमा छ यो शानदार स्कूल ।

डुहु माविमा छिर्दा कुनै कूटनितिक निकाय वा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको कार्यालय जस्तो लाग्छ । सामुदायिक विद्यालयमा गुणस्तरीय पढाई भएन भनेर आलोचना भइरहेको बेला डहु माविले स्याबास्सी कमाइरहेको छ । विद्यालयको भौतिक पूर्वाधार, त्यसको व्यवस्थापन र गुणस्तरीय पठनपाठनका कारण यो नमुना विद्यालय बनेको छ ।

साधारण घटना, असाधारण परिणाम

विगतमा डहु माविको हालत अन्य सामुदायिक विद्यालयको भन्दा फरक थिएन । बेहाल थियो । वर्षभरि पढायो एसएलसीमा विद्यार्थी फेल, सबै सामुदायिक विद्यालयले भोग्ने नियति मावि डहुले पनि लगातर व्यहोरी रह्यो । सधैं अभिभावकको आलोचना अनि जिल्ला शिक्षा कार्यालय र माथिल्ला निकायहरुको आक्रोशको सिकार बन्नुपथर््यो।

२०६४ मा साधारण लाग्ने एउटा असाधारण घटना भयो । घटना साधारण किन हो भने विद्यालयका प्रधान अध्यापक नियुक्त भए दलबहादुर वल लामा । नयाँ प्रअ आउनु एउटा विद्यालयका लागि साधारण र नियमित विषय नै हो । घटना असाधारण किन हो भने लामाले असाधारण काम गरे ।

लामा प्रअ हुँदा विद्यालय अस्तव्यस्त थियो, न भौतिक पूर्वाधार, न राम्रो पढाई, न अभिभावकहरुको सहयोग, न माथिल्ला निकायहरुको सद्भाव । यस्तो हालतमा दलबहादुरले विद्यालयको नेतृत्व समालेका थिए।

विद्यालयको बेहाल थियो, केही चमत्कार गर्ने सुर गरे दलबहादुरले । उनले बुद्धि लगाए, विद्यार्थीको पढाईको जग कमजोर भएकाले राम्रो नतिजा नआएको निष्कर्ष निकाले ।

त्यसो भए के गर्ने त ? निकै सोंचविचार गरेर दलबहादुरले निर्णय गरे, निर्णय कार्यान्वयन गर्न कम्मर कसेर लागे ।

त्यो निर्णय बारे दलबहादुर भन्छन्, ‘सामुदायिकमा पढ्नेको सबैभन्दा कमजोर अंग्रेजी भाषा हो । त्यसैले २०६४ सालमा एक कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्यौं। त्यसपछि हरेक वर्ष एक एक कक्षा थप गर्दै अंग्रेजी माध्यमबाट पढाउन थाल्यौं । अंग्रेजी राम्रो भए पछि विद्यार्थीले विज्ञानका प्राविधिक शब्दहरु बुझ्न लागे, त्यसले विज्ञानमा पनि राम्रो भयो ।

अंग्रेजीमा सुधार भएपछि विस्तारै अरु विषयमा पनि सुधार हुन थाल्यो। ‘२०६४ सालमा १ कक्षामा अंग्रजी भाषबाट पढाउन सुरु गरेको ब्याजले यस वर्ष एसइई दिँदै छ’, लामाले भने ।

सफ्ठवेयर पछि हार्डवेयर

सफ्ठवेयर अर्थात् पठनपाठनमा सुधार भयो तर हार्डवेयर अर्थात् भौतिक पूर्वाधार र सरसफाईको अवस्था नाजुक थियो ।

भवन मात्र बनेको छैन, डहु माविको भौतिक संरचनाको व्यवस्थापन लोभलाग्दो छ । चटक्क सिंगारिएको भवन, छुँदा पनि दागलाग्ला जस्तो रंगरोगन, अनि गमलामा फूल, कम्पाउण्ड भित्र सुन्दर बँगैचा, यो सबै कुशल व्यवस्थापक विना सम्भव छैन ।

अंग्रजी माध्यमबाट पढाउन थालेपछि विद्यार्थीको पढाई त केही सुध्रियो तर उनीहरुलाई पढाउन बस्ने ठाउँनै थिएन । जता हेर्यो उतै धूलो, फोहोर, विद्यार्थी सबै मैला धैला, गाला पट्पटी फुटेका । सफा हन् पनि कसरी ! धुलो भुईँमा बसेका छन्, त्यहीँ खेलेका छन् । यसले दलबहादुर सरको मन कटक्क खायो । यसको समाधान खोज्न थाले दलबहादुर सरले ।

कतै भवन बनाउन सघाउने दाता पाइन्छन् कि भन्दै खोज्न थाले । एउटा दाता फेला पर्यो ः एशियन फ्रेण्डस नेटवर्क जापान । जसले विद्यालयको भवन निर्माणको लागि आठ लाख २५ हजार रुपैयाँ दियो ।

२०६४ सालमै गाविसले विद्यालय भवनका लागि चार लाख रुपैयाँ दियो र २०६५ सालमा थप ३ लाख रुपैयाँ दियो । अन्य विभिन्न श्रोतबाट समेत बजेट जुटाएर विद्यालयको पहिलो पक्की भवन बन्यो ।

विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार हुँदै गएपछि जिल्ला शिक्षा कार्यालय र अन्य सरोकारवालको विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि सहयोग दिन थाले ।

पछिल्लो पटक जिल्ला शिक्षा कार्यालय र सांसद विकास कोषको समेत रकम जुटाएर विद्यालयले ६९ लाख खर्च गरेर अर्काे नयाँ भवन पनि बनाएको छ । यो सहित तीनवटा पक्की भवन बनेका छन् । जहाँ २६ वटा कोठा छन् ।

भवन मात्र बनेको छैन, डहु माविको भौतिक संरचनाको व्यवस्थापन लोभलाग्दो छ । चटक्क सिंगारिएको भवन, छुँदा पनि दागलाग्ला जस्तो रंगरोगन, अनि गमलामा पूmल, कम्पाउण्ड भित्र सुन्दर बँगैचा, यो सबै कुशल व्यवस्थापक विना सम्भव छैन ।

प्रधानाध्यापकको जिम्मा लिएपछि दलबहादुरले कहिले पनि पछाडि फर्केर हेर्नु परेको छैन । २०६४ सालबाट करिव पाँच वर्ष उनलाई विद्यालय सुधार्न समय लाग्यो । २०७० सालबाट उनलाई सफलता नै सफलता मिलेको छ । २०७० सालदेखि हरेक वर्षको एसएलसी र एसईई परिक्षामा डहु माविका विद्यार्थीले जिल्लामा सर्वाेत्कृष्ट स्थान हासिल गरेका छन् ।

त्यसयता सो विद्यालय पढ्ने कुनै पनि विद्यार्थीले अनुत्तिर्ण हुनुपरेको छैन । २०७० सालमा ३४ जना विद्यार्थी एसएलसीमा सहभागी भएकामा जिल्ला प्रथम सहित सबै विद्यार्थी उत्तिर्ण गराएको विद्यालयले २०७१ मा ३० जना, २०७२ मा २६ जना र २०७३ मा ३८ जना विद्यार्थी उत्तिर्ण गरायो । त्यो पनि लगातार जिल्ला प्रथम हुँदै ।

अहिले १० कक्षामा ३२ जना विद्यार्थी छन् । यस वर्ष पनि डहु मावि जिल्ला प्रथम हने र सबै विद्यार्थी कम्तिमा पनि ए श्रेणीमा उत्तिर्ण हुने बलबहादुरको विश्वाश छ ।

दुर्गम गाउँको विद्यालय, त्यसमा पनि जनजाति तामाङ समुदायको वाहुल्यता रहेको स्थान, एकाएक विद्यालयले यस्तो प्रगति गरेपछि प्रअ दलबहादुर बल लामा अहिले हिरो बनेका छन् । डुहु मावि हेर्न जिल्ला र जिल्ला बाहिरका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा शैक्षिक फाँटमा लागेकाहरु आउने गरेका छन् ।

डहु मावि हेर्ने जो कोही भन्छन्, ‘विद्यालय होस् त डहु मावि जस्तो ।’

कसरी सुध्रियो पढाई ?

‘हामीले केही नयाँ चमत्कार गरेका हैनौँ, सबै मिल्यौ, टिमवर्क गर्यौँ, मेहनेत गर्यौं, सफल भयौँ’, सहज जवाफ छ दलबहादुरको । सम्भव चाँही कसरी भयो त ?

डहुमा २५ जना शिक्षक शिक्षिका छन् । ३ सय ७५ जना विद्यार्थीका लागि यति शिक्षकशिक्षिका पर्याप्त छन् । अन्य विद्यालयमा पनि सरदर यति विद्यार्थीका लागि २५ देखि ३० जना शिक्षक हुन्छन् । तर, दलबहादुरले भएको जनशक्तिलाई उचित रुपमा परिचालन गरेका छन् ।

विद्यालयमा विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाई हुन्छ । तर, एउटा शिक्षकले चार देखि पाँच पिरियड भन्दा धेरै पढाउन पर्दैन । शिक्षकले पढाउने समय कहिले विहान ६ बजे पनि पर्न सक्छ कहिले साँझ पाँच बजे पनि पर्न सक्छ ।

‘यसो हुँदा विद्यार्थीहरु पनि पढाईमा इङ्गेज भइ रहने, शिक्षकलाई पनि लोड नहुने । आप्mनो समयमा पढाउँछन्, बाँकी समय शैक्षिक सामाग्रीको तयारी तथा आप्mनो क्षमता विकासको लागि विभिनन् सामाग्रीहरु इन्टरनेटमा खोज्ने तथा अध्ययन गर्ने काम शिक्षकले गर्छन् । यसले गर्दा शिक्षक पनि खुसी, विद्यार्थी पनि खुसी’ उनले भने ।

बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बस्न शिक्षकहरु मान्छन् त ? दलबहादुर भन्छन्, ‘पहिला सुरु गर्दा मलाई पनि केही अप्ठेरो महशुस भएको थियो । तर विस्तारै पढाईमा सुधार भयो । अझ विद्यालय लगातार जिल्ला टप हुन लागेपछि त शिक्षकहरुलाई पनि हौसला भयो । कसले राम्रो गर्ने भनेर आन्तरिक प्रतिस्पर्धामा पो लाग्नु भएको छ ।’

विद्यार्थी चाहीँ के गरी बस्छन् त विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ? दलबहादुर भन्छन्,‘ हामीले बिहानदेखि बेलुकासम्म पढाउँदा पनि विद्यार्थीबाट थप शुल्क लिएका छैनौं । खानेकुराको व्यवस्थापन भने विद्यार्थी आफैंले गर्नुपर्छ । कोही खानेकुरा बोकेर विद्यालय आउँछन् । कसैका अभिभावक पुर्याउन आउँछन् । अभिभावक पनि विद्यार्थीको पढाई राम्रो भएको कारण सन्तुष्ट छन् । यहाँ पढाई बाहेक अरु कुरै हुँदैन ।’

अभिभावहरुको सुख दुःखमा विद्यालय

डहु माविले अभिभावकहरुलाई सहयोग गर्दछ । २०६४ सालमा विद्यालयले द्यौसी भैलो खेलेर ४० हजार रुपैयाँ जम्मा गर्यो । सो रकमबाट विद्यालय कोषको स्थापना गर्यो । कोषमा अहिले ३० लाख रुपैयाँ जम्मा भएको छ । कोषबाट अभिभावकले ऋण लिन सक्छन् । आप्mनो गर्जाे टरेपछि सापटी रकम फिर्ता गर्नुपर्छ । यो कोषले विद्यालय र अभिभावक बीच सम्बन्ध बलियो बनाउन सहयोग गरेको छ ।

हाकिम बस्नेजस्तो कुर्सीमा विद्यार्थी

विद्याथीहरुलाई पढ्न वातावरण पनि राम्रो हुनुपर्छ । बस्ने ठाउँ पनि सहज हुनुपर्छ । सोही कुरालाई ध्यानमा राखि विद्यालयले एक विद्यार्थी एक कुर्सीको व्यवस्था गरेको छ । विद्यार्थी बस्ने कुर्सी कुनै सरकारी कार्यालय वा गैरसरकारी संस्थाका प्रमुख वा कार्मचारीको भन्दा कम छैन । जसमा बसेर विद्यार्थी आराम साथ पढिरहेका छन् ।

गाउँमै इञ्जिनियरिङ

विद्यालयले गत वर्षबाट कम्प्युटर साइन्स विषयमा पढाई गरिरहेको छ । गत वर्ष नौ कक्षामा कम्प्युटर साइन्स विषय पढाई थालिएकोमा अहिले १० कक्षामा पनि सो विषय पढाई भइरहेछ । यी विद्यार्थीले ११ र १२ मा पनि कम्प्युटर साइन्स पढ्नेछन् । कम्प्युटर साइन्स विषय सर्वत्र पढाई हुन्छ तर यो विद्यालयले पढाइरहेको कम्प्युटर साइन्स एक ढंगको इन्जिनियरिङ जस्तै हो । यो विषय पढेपछि विद्यार्थीले सोझै विई पढ्न पाउने छन् । अहिलेको ब्याजका सबै विद्यार्थीहरुले ९ कक्षाबाट प्राविधिक विषय रोजेकाले उनीहरु सबै इञ्जिनियर बन्न सक्ने दलबहादुरले बताए ।

अन्तमा

शिक्षाविद् विद्यानाथ कोइरालाले अभियान चलाएका छन् ‘शिक्षकले चाहे गर्न सक्छन् ।’ डहु माविको प्रगति हेरेर भन्न सकिन्छ, ‘शिक्षकले चाहे गर्न सक्छन् ।’

र, देशभरीका सामुदायिक विद्यालयमा एकएक जना दलबहादुर वल लामा जस्ता प्रअ र डहु माविको जस्तो शिक्षक शिक्षिकाको समूह हुने हो भने नेपालको शिक्षा कति माथि उठ्थ्यो होला ?-नवराज पथिक, रामेछाप, हाम्राेकथाडटकम

सम्बन्धित समाचार

Advertisement