रामेछाप । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो संस्थामा कार्यरत कर्मचारी विवस प्रसाईंको असामयिक निधनप्रति गहिराे दु:ख व्यक्त गर्दै मृतककाे परिवारलाई घरमै पुगेर आर्थिक सहयोग गरेकाे छ ।
समाजसेवी तथा इक्यानका सल्लाहकार महेश कार्कीको पहल र समन्वयमा इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, महासचिव शेषराज भट्टराई, पूर्वअध्यक्ष राजेन्द्र बराल, समाजसेवी एवं व्यवसायी थिरलाल भट्ट र खेमराज तिमल्सिनासहितको टोलिले रामेछापको मन्थली नगरपालीका–७ स्थित स्वर्गिय प्रसाईंको घरमै पुगेर परिवारलाई ४० हजार रुपैंयाँ किरिया खर्च हस्तान्तरण गरेको हो ।
इक्यान कार्यालयमा सहायक अधिकृतकाे रूपमा कार्यरत २६ वर्षीय विवस प्रसाईंको गत मंगलबार निधन भएकाे थियाे । प्रसाईंको आमा-बुबा, श्रीमती र दुई बर्षिय एक छोरा छन् ।
आर्थिक सहयोग हस्तान्तरण गर्न पुगेका सल्लाहकार कार्कीले अहिलेलाई किरिया खर्च मात्रै उपलब्ध गराइएको र इक्यानले आफैं र विभिन्न स्रोतबाट संकलन गरेको करिब ७ लाख रुपैयाँ प्रसाईंको परिवारलाई आर्थिक सहयोगस्वरुप प्रदान गरिने बताए ।
इक्यानले उपलब्ध गराउने आर्थिक सहयोग कुनै प्रचारप्रसारको लागि नभइ विशुद्ध परिवार र बच्चाको भविष्य निर्माणको लागि आर्थिक कठिनाई झेल्नु नपरोस् भन्ने उदेश्यले प्रेरित भएको कार्कीले बताए ।उनले भने,- 'अल्पायुमै प्रसाईंको निधनबाट शोकमा डुबेको परिवारलाई इक्यानको आर्थिक सहयोगले राहत हाेस् भनेर पहल कदमी गरेकाे हाे, जुन रकम सानो छोराको भरणपोषण, पढाईलेखाई र भविष्यको लागि प्रयोग गरियाेस् भन्ने इक्यानकाे चाहना हाे ।'
अल्पायुमै प्रसाईंको निधनबाट शोकमा डुवेको परिवारले पनि इक्यानको आर्थिक सहयोगले राहत महसुस गरेको छ । दु:खकाे घडीमा कार्यरत संस्थाका सदस्यहरू घरमै आएर शान्त्वना र आर्थिक सहयाेग गरेकाे भन्दै मृतकका परिवारले इक्यानका सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।