भक्तपुर, १७ साउन । उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । बर्सेनि साउन शुक्ल प्रतिपदाबाट याे पर्व सुरु हुने गर्दछ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्बतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइन्छ।
स्वयम्भू महाचैत्यको सेवा गर्ने एक महिनासम्म चल्ने यस पर्वमा राजधानीमा खास गरी बौद्ध धर्मावलम्बीले बिहान सबेरै गुँलाबाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा विहारको परिक्रमा गर्दछन् ।
स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैको विजयेश्वरीको दर्शन गरी उनीहरू केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न पुग्ने गर्दछन् । त्यसपछि उनीहरू विभिन्न बौद्ध मन्दिर परिक्रमा गरी आ-आफ्ना घर र्फकन्छन् ।
गुँला पर्वको एक महिनाभित्र वर्षभर दिवंगत भएका आफन्तको सुखावति भवनमा बास परोस् भन्ने कामना गर्दै उनका परिवारले शंृगभेरी अर्थात् सिंग बाजा फुकाउँदै स्वयम्भू महाचैत्यको प्रदक्षिणा गर्दछन् । महाचैत्यको परिक्रमा गर्दै बौद्ध स्तोत्र, धारणी, नामसंगिती तथा सद्धर्मग्रन्थ पाठ गर्ने गर्दछन् ।
पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँठाउँमा बाजा बजाउने परम्परा छ । यसलाई नेपाल भाषामा धाः (गुँला) बाजा भनिन्छ । पर्व अवधिभर दैनिक बिहान बाजागाजाका साथ बौद्धहरु बहाबही जाने गर्दछन् । गुँलाबाजामा बाँसुरी, खिं लगायत बाद्य समावेश हुन्छन् ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो। यसरी गुँलाको अर्थ नवौं महिना हो। नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँला पर्व भन्ने गरिएको हो। हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ।
पर्वभर बौद्धहरु विशेष गरी माछामासु खाँदैनन् । पर्वका क्रममा दैनिक बिहान बाजा बजाउँदै मठमन्दिर, बौद्ध बिहार र चैत्य जाने गरिन्छ ।
एक महिने पर्वका अवसरमा दैनिक आ–आफ्नो क्षेत्रका मठमन्दिर, बौद्ध विहारका साथै विशेष दिन विशेष ठाउँ घुम्ने गर्दछन् ।