काठमाडौं, ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको क्रममा माओवादीको भनाइलाई मानिएको भए अहिले जेनजी पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था नआउने बताएका छन् । संविधान दिवस २०८२ को अवसरमा शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धलाई नेपालको राजनीतिक यात्राको ऐतिहासिक उचाइका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।
‘हामी अहिले ११ औँ संविधान दिवस फरक परिस्थितिमा मनाइरहेका छौँ। जेनजी आन्दोलनले सिर्जना गरेको नयाँ राजनीतिक परिवेशकै बीचमा यो दिवस आएको छ,’ प्रचण्डले भने, ‘यही मौलिकता र विशेषता हो।’ उनले संविधान सभाबाट संविधान बनाउन पुग्न करिब ७० वर्ष लामो संघर्ष, विभिन्न आन्दोलन र बलिदान लागेको उल्लेख गर्दै त्यसक्रममा धेरै चुनौतीहरूको सामना गर्नुपरेको स्मरण गरे।
प्रचण्डका अनुसार संविधान निर्माणका बेला दलित, महिला, मधेसी, कर्णालीदेखि मेची–महाकालीसम्मको पहिचानलाई समेट्ने खालको प्रगतिशील संविधान बनाउन आफूले निरन्तर प्रयास गरे पनि ठूला दलका अहंकार र स्वार्थका कारण धेरै सुझाव समावेश हुन सकेनन्। ‘संविधान बनाउन नदिन ठुलो दबाब र धम्कीको सामना गर्नुपरेको थियो,’ उनले भने, ‘त्यसवेला मैले अरू नेताहरूलाई प्रधानमन्त्री अफर गरेर संविधान घोषणा गर्ने अवस्थामा ल्याएको थिएँ। यदि त्यस्तो नगरेको भए के हुन्थ्यो होला भन्ने अहिले पनि सोचिरहन्छु।’
उनले आफूले चाहेजसरी संविधान बनाउन सकिएको भए अहिले जेनजी पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था नआउने दाबीसमेत गरे।