काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना स्थगित गरेको छ।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज न्यौपानेका अनुसार खसीबोका र च्याङ्ग्रा ल्याउन स्थानीय तहसँग समन्वय गर्ने प्रक्रियामा समय नपुग्ने भएपछि खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको हो। अविरल वर्षाले सडक अवरुद्ध हुने समस्या पनि थप चुनौती बनेको उनले बताए।
यसअघि खाद्यले भदौ १७ देखि ३० गतेसम्म अनलाइनमार्फत अग्रिम बुकिङ खुला गरेको थियो। च्याङ्ग्रा बुकिङका लागि ५ हजार र खसीबोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क तोकिएको थियो। तर, सामाजिक सञ्जाल बन्द भएपछि अनलाइन बुकिङ सेवा प्रभावित भएको कम्पनीको भनाइ छ। अग्रिम बुकिङ गर्ने उपभोक्ताले बुझाएको शुल्क फिर्ता गरिने भएको छ।
खाद्यले यस वर्ष १,५०० खसीबोका र ३०० च्याङ्ग्रा खरिद गर्ने लक्ष्य लिएको थियो। खरिदका लागि ५ करोड रुपैयाँ छुट्याइएको थियो र प्रतिकिलो १० रुपैयाँ छुट दिने तयारी थियो। अघिल्लो वर्ष भने १,०५ वटा खसीबोका र ३०० च्याङ्ग्रा ल्याएर बिक्री गरिएको थियो।
यद्यपि, सुपथ मूल्य पसल भने भदौ ३० गतेदेखि देशभर सञ्चालन भइरहेको छ। खाद्यले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले ३८ स्थानमा पसल सञ्चालन गरेका छन्। सरकारले यस वर्षका लागि सुपथ मूल्य पसल सञ्चालन खर्च र छुटका लागि ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।