हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

अनलाइन दर्पण 2025-09-22
img

काठमाडौँ । हिन्दू नेपालीको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ। दसैँको पहिलो दिनका रूपमा मनाइने घटस्थापनाका अवसरमा देशभरका हिन्दू परिवारहरूले घर-घरमा जमरा रोपेर देवी दुर्गाको पूजाआराधना आरम्भ गरेका छन्।

व्रत, उपवास र देवी पूजा आरम्भ गरिने घटस्थापनाका दिन बिहानै स्नान गरी शुद्ध भइसकेपछि विधिपूर्वक घटस्थापना गर्ने परम्परा रहेको छ। वैदिक परम्परा अनुसार पूजा कोठा वा देवस्थलमा शुद्ध माटोमा जमरा रोपेर घट राखिन्छ। घटमा कलश भरी पानी, अक्षता, फलफूल राखी देवी शक्तिको आवाहन गरिन्छ।

दसैँ पर्वको सुरुवातसँगै देशभर वातावरणमा उत्साह र उमङ्ग छाएको छ। सरकारी कार्यालय, शैक्षिक संस्था तथा निजी क्षेत्रहरूमा बिदाको माहोल देखिन थालेको छ भने बजारमा किनमेल गर्ने भीड बढेको छ। नयाँ लुगा, चप्पल, मिठाई, मासु र मदिराको खरिदबिक्रीमा तीव्रता आएको छ।

धार्मिक मान्यताअनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुलदेवी भगवतीको आराधना गर्ने परम्परा छ। विशेष गरी असोज शुक्ल अष्टमी, नवमी र दशमीका दिनलाई महत्वका साथ मनाइन्छ। विजयादशमीका दिन घर–घरमा पूजाआराधना गरी टीका–जमरा लगाउने चलन छ, जसलाई शक्तिको विजय र सदाचारको प्रतीकका रूपमा लिइन्छ।

यस वर्ष पनि राजधानीदेखि ग्रामिण भेगसम्मका मठ–मन्दिर र देवस्थलहरूमा घटस्थापनाको विशेष पूजा–आराधना गरिएको छ। भक्तजनहरूले देवी मन्दिरहरूमा दर्शन गरी घरघरमा घटस्थापना गरेका छन्।

बडादसैँलाई नेपाली समाजमा एकता, पारिवारिक भेटघाट र शुभकामनाको पर्वका रूपमा पनि लिइन्छ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यस पर्वले हिन्दू नेपालीबीच आपसी सद्भाव र उत्साह बढाउने विश्वास गरिन्छ।

सम्बन्धित समाचार

Advertisement