काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिए । उनले भने, “आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय भएको छ । फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकले मतदान गर्न पाउनेछन् । आजैबाट मतदाता नामावली सङ्कलन सुरु भइसकेको छ ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलनको बाटो खोलिदिन सरकारलाई आग्रह गरेको थियो । सरकारको सहमतिपछि आयोगले यसअघि रोकिएको मतदाता नामावली अद्यावधिक प्रक्रिया फेरि सुरु गरेको हो ।