जेनजी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

अनलाइन दर्पण 2025-10-08
img

२२ असोज, काठमाडौं। व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिएका हुन्।

उनका अनुसार, “यो केवल हाम्रो वाचा होइन, हाम्रो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौं, पुनर्निर्माण गर्नेछौं, र देशको उज्ज्वल भविष्य निर्माणमा योगदान दिनेछौं,” उनले लेखेका छन्।

सीजीले रोजगारीका लागि सम्पर्क गर्न कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई जिम्मेवारी दिएको छ। इच्छुकले ९८५१२२४००० नम्बरमा सम्पर्क गर्न सक्ने छन्।

आन्दोलनबाट सीजीलाई ५ अर्बको क्षति

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रतर्फ चौधरी ग्रुप सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। कम्पनीका अनुसार, आन्दोलनकारीद्वारा भएको तोडफोड, लुटपाट र आगजनीका कारण समूहलाई करीब ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

सबैभन्दा बढी क्षति सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना र गोदाममा पुगेको छ, जहाँ भवन, मेसिनरी, यन्त्र, मौज्दात र सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन्।

त्यसका साथै, सिजी नेटको सर्भर र डाटा सेन्टर, थापाथलीस्थित सिजी मोटर्स, हरिसिद्धिको सर्भिस सेन्टर, रविभवन र बर्दघाटस्थित निवास, र चितवन, जोरपाटी, विशालनगर, ललितपुरका प्रतिष्ठानहरूमा समेत ठूलो क्षति पुगेको समूहले जनाएको छ।

सीजीको सन्देश

निर्वाण चौधरीले भनेका छन्-“यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माण यात्रामा अघि बढेका छौं। चौधरी परिवार र समूहले देशप्रति उच्च सम्मानका साथ सहयोग जारी राख्नेछ।”

सम्बन्धित समाचार

Advertisement