सिरहा, कार्तिक २५ । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण सिरहा जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ।
जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले संकलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रफलमा रहेका धानबालीमा क्षति पुगेको जनाइएको छ।
कृषि शाखाका अनुसार लहान नगरपालिकामा सबैभन्दा बढी दुई हजार २३२ हेक्टरमा क्षति पुगेको छ। त्यस्तै औरही नगरपालिकामा एक हजार ३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब ८०० हेक्टर क्षेत्रफलमा रहेको धानबाली वर्षाले नोक्सान पुर्याएको छ।
अचानक परेको वर्षाका कारण अधिकांश किसान कटानी गर्नै लागेका बेला बाली डुबानमा परेका छन्। कृषकहरूले यसलाई यस वर्षको सबैभन्दा ठूलो क्षति बताएका छन्। स्थानीय प्रशासनले थप विवरण संकलन गरी राहत तथा पुनःस्थापना योजना तयार गर्ने जनाएको छ।