काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान चुनावी माहोलप्रति व्यंग्य गर्दै दलहरूका दाबी सुन्दा सबै दलले जितिसकेको र एकल सरकारसमेत गठन गरिसकेको जस्तो देखिएको टिप्पणी गरेका छन्। शनिबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो कटाक्ष गरेका हुन्।
‘कोही दोस्रो हुँदैन’ भन्ने दाबी
बास्कोटाले लेखेका छन्, “चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन। सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो।” उनका अनुसार चुनावी प्रचारका क्रममा गरिने दाबीहरू वास्तविकताभन्दा निकै फरक देखिन्छन्।
अन्तिम निर्णय मतदाताकै हातमा
उनले चुनावको परिणाम भने मतदाताको मनोभावमा निर्भर रहने स्पष्ट पारेका छन्। “मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट होला,” उनले उल्लेख गरेका छन्।
आरोप–प्रत्यारोप ‘सामान्य’ विषय
चुनावी प्रतिस्पर्धाका क्रममा हुने हो–हल्ला, झुटा आरोप र प्रत्युत्तरलाई लिएर पनि उनले व्यंग्य गरेका छन्। “हो–हल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप–अमेरिकामा त देखिन्छ। यो त नेपालमा मामुली कुरो भैगो,” बास्कोटाले लेखेका छन्।