भक्तपुर, २१ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेकपा एमाले तेस्रो चरणको निर्वाचनका साथै प्रदेश र संसदको निर्वाचनमा पनि पहिलो पार्टी बन्ने बताउनु भएकाे छ ।
भक्तपुरमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पाण्डेले एमाले नै नेपाली जनताको सच्चा सहयोगी भएका कारण स्थानीय तहको तेस्रो चरणको निर्वाचनका साथै प्रदेश र संसदको निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
तीनै तहका निर्वाचनमा जीत हासिल गर्ने दाबी गर्दै नेता पाण्डेले आगामी मंसिरको अन्तिम साता नेकपा एमालेको बहुमतको सरकार निर्माण हुने ठोकुवा गर्नुभएको छ ।
नेकपा एमालेका बाहेकका अरु राजनीतिक दलहरु नेपालको समृद्धि र विकासमा उदासिन रहेको बताउँदै उहाँले नेपालको समृद्धिका लागी नेकपा एमाले नै पहिलो शक्ति भएको बताउनुभयो ।
कार्यक्रममा बाेल्दै उहाँले नेपालको विकासमा नेपाली काँग्रेस नै बाधक रहेको समेत बताउनु भयाे । उहाँले भन्नुभयाे - बैदेशिक चलखेलकै कारण नेपालमा तत्कालिन सरकारले ल्याएका विकासका कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकि थन्किरहेको छ ।
तस्करी र भ्रष्ट्राचारलाई सरकारले नै प्रोत्साहन गरिरहेको छ । सरकारले तत्काल भ्रष्ट्राचार र तस्करी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनु भयो ।