माघ ३,दाङ । नेकपा माओवादीका नेता एवं दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णबहादुर महरालले सरकारलाई तुरुन्त निर्णय सच्चाउन अनुरोध गरेका छन् । दाङलाई प्रदेश नं. ५ को राजधानी घोषणा नगरेको प्रति असन्तुष्टि जनाउँदै महराले तुरुन्त त्यो निर्णय सच्चाउन माग गरेका छन् ।
बुधवार सरकारले प्रदेश नं. ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकेको थियो भने सातवटै प्रदेशको प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको थियो । त्यस लगतै पूर्व उपप्रधानमन्त्री समेत रहेका महराले ५ नम्बर प्रदेशको राजधानी दाङ नै हुनुपर्ने माग गर्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । ‘दाङ राजधानीका लागि सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थानमा छ।’ महराले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
उनले देशको विकास उचित र सन्तुुलित हुनुपर्ने माग गर्दै दाङमा भइरहेको आन्दोलनको दृढतापूर्वक समर्थन गर्ने उल्लेख गरेका छन् । उनले सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध समेत गरेका छन् । प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित रहेको उनले टिप्पनी गरेका छन् । सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नुले सरकारको असक्षमता पुष्टि भएको महराले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
‘देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु’,–महराले विज्ञप्तीमा उल्लेख गरेका छन्‘ यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ ।’
