भक्तपुर । नेपालमा हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको समेत केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए ।
उनका अनुसार नेपालमा बर्षेनी करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ ।
नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या एक हजार १०० रहेको केन्द्रको अनुमान छ । जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् । ६ सयभन्दा धेरै सम्पर्कमै आएका छैनन् ।
यो रोगका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा आशिष श्रेष्ठले बताए । इन्टेन्सिफ चरणअन्तर्गत नयाँ बिरामीको दुई महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि चार महिनासम्म उपचार गरिन्छ । क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्दछ ।
केन्द्रका अनुसार डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ भने नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको छ ।
क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि ) माइकोव्याक्टेरियम ट्युवरकुलोसिस ;; (mycobacterium tuberculosis) नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो। संस्कृतमा यसलाइ राज्यक्षमा पनि भन्ने गरिन्छ । यो रोगले शरिरको क्षय गर्ने भएकोले नै यसलाइ क्षयरोग भनिएको हो । यसलाइ महारोग अर्थात रोगहरुको राजा पनि भन्ने चलन रहेको छ ।
यो राेग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ ,खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन। र अर्को कुरा क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन।
यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। जस्तैः कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ। क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्ति मध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्दछन्।
क्षयरोग मुख्यतया फोक्सोको रोग भएतापनि शरिरका अन्य अङ्ग जस्तै हाड , मस्तिष्क , आन्द्रा लगायतका भागमा पनि यसले संक्रमित गर्न सक्छ ।मुख्यतः क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ –फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि)।
फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोग भन्दा गाह्रो हुन्छ ।
क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्- ( Airborne Droplet infection ) । यो जीवाणु सन् १८८२ मा रोबर्ट कोचले पत्ता लगाएका हुन् । जीवाणु पत्ता लागेको एक शताव्दी भैसक्दा र यो रोग निको पार्ने प्रभावकारी औषधी र रोग लाग्न नदिने खोपको व्यापक प्रयोग भैरहदा पनि क्षयरोग विश्रभरी नै मुख्य स्वास्थ्य समस्याको रुपमा रहदै आएको छ ।
क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको शरिरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिना देखि एक वर्ष सम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिना देखि एक वर्ष सम्मको समयलाइ झ्याली समयको रुपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरुले उत्पादन गर्ने एक प्रकारको विष Tuberculin को कारणले सरिरका कोषहरु को क्षय हुन जान्छ फलतः रोगका लक्षण देखिन थाल्छन् ।
सामान्यतया सरिरमा भएको रोग प्रतिरोधक कोषहरु (T-cell) ले जीवाणु हरुको प्रवेश र वृद्धी नियन्त्रण गर्ने गर्छन् । तर जब क्षयरोगका जीवाणुहरुको नियन्त्रणमा यस् कोषहरु असफल हुन्छन् तब जीवाणुहरु सम्पूर्ण रक्तप्रवाहमा समाहित हुन पुग्छन् । र फोक्सो लगायतका अङ्गमा पुगी वृद्धी हुन थाल्छन् । यो चरणलाई MiliaryTuberculosis भनिन्छ । रोग पाकेको चरणमा रक्तनलीहरु क्षतविक्षत पारी प्वाल पार्ने र कोषहरुलाई मार्ने गर्छन् । फोक्सोका भित्ताहरुमा समेत प्वाल पर्न जान्छ । यो अवस्थामा निम्न लक्षणहरु देखिन थाल्छन् ।
क. दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने
ख. शरिरको तौल/वजन घट्ने
ग. फोक्सोमा पीडा महसुस हुने बेलुकापख ज्वरो आउने आदि । *यदी सहि उपचार नभएमा रोगीको मृत्यु हुन सक्छ ।
त्यसैगरी फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंग अनुसार फरक हुने गर्छ। जस्तै टि.बी. मेनेन्जाइटिस भएको खण्डमा विस्तारै– विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने ,घाँटी अररो हुने ,मानसिक भ्रम हुने ,शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ। हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने,हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ। पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पनेर्, मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ।
त्यस्तै ग्रन्थीको क्षयरोग भएको खण्डमा ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने ग्रन्थी नदुख्ने साथै धेरै ग्रन्थीहरु एक अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ।
१ केटाकेटी किशोर किशोरी र वयस्क जो सुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् ।
२ रेागी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार
३ धेरै भिडभाड र रोगसंक्रमित क्षेत्रका बासिन्दा
४ अल्कोहल लगायतका मध्यपान र धुम्रपानको कुलतमा लागेका हरु र बढि धुलो धुवामा बस्नेहरु
५ एड्स रोगी जसको रोगप्रतिरोधात्मक क्षमता हुदैन
१ धुम्रपान मध्यपान नगर्ने
२ बालबालिकाहरुलाइ उचित समयामा बिसिजि को खोप लगाउने
३ रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने
४ हाछ्यँु गर्दा र खोक्दा मुख छोप्ने
क्षयरोगको सरल र सहज उपचार सम्भव भएपनि यसले वर्षेनी हजार्रौको ज्यान लिने गरेको छ । त्यसैले यो रोगप्रति हेलचेक्राइ नगरिकन छिटौ औषधोपचारमा लाग्नुपर्छ ।
फोक्सोको क्षयरोग निदान गर्ने सरल ,भरपर्दो उपाय भनेको खकार परीक्षण गर्नु नै हो। दुइ हप्ता भन्दा बढी खोकी लागेमा अनिवार्य खकार परीक्षण गर्नुपर्दछ। त्यस्तै क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन्। केही गरी निदान गर्न गाह्रो भएमा Gene Xpert प्रविधिबाट परीक्षण गराउनु पर्छ। फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि FNAC, Biopsy, Culture test आदि परीक्षण उपयोगी हुन्छन् ।
क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । उपचार अवधी भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ। यस अवधिमा सबै विरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ ,जसमा विरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ। औषधिहरुको सेवनबाट पिसाव रातो हुन सक्छ तर यो सामान्य हो,डराउनु पर्दैन ।
१ यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ ।
२ यो रोग लागि सकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ (Chemotherapy) ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक एक सेकेण्डमा एक जना मानिसलाई क्षयरोगले संक्रमित गर्ने गरेको छ । विश्वका एक तिहाइ मानिस क्षयरोगबाट संक्रमित छन् । यद्यपि असाध्य र महारोग मानिएको क्षयरोगको उपचार सहज बन्दै गएकोले यो रोगबाट प्रभावित हुने र ज्यान गुमाउनेको संख्या कम भएको छ । तरपनि नेपालको केही ग्रामिण क्षेत्रमा व्याप्त रोग र रोगीप्रतिको नकारात्मक सोच र लापरवाहीले गर्दा रोगीले अनाहकमा ज्यान गुमाउनुपरेको तितो यथार्थ रहेको छ । तसर्थ क्षयरोगबारे पुर्ण जनचेतनाको खाँचो छ । पुरै पढ्नु भयाे, जानकारीका अवश्य सेयर गर्नुहाेस् ।