प्रदेशसभा सदस्यहरूको सपथग्रहण आज : कुन प्रदेशको सपथग्रहण कहाँ ?

अनलाइन दर्पण 2018-01-20
img

काठमाडौं,  ७ माघ । गत मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित ७ वटै प्रदेशका प्रदेशसभा सदस्यको सपथ ग्रहण आइतबार (आज) हुँदैछ ।  सरकारले तोकेको अस्थायी प्रदेश मुकाममा प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण हुन लागेको हो । उनीहरुलाई सम्बन्धित प्रदेश प्रमुखले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

प्रदेश नं १ का प्रदेशसभा सदस्यको सपथग्रहण प्रादेशिक अस्थायी राजधानी विराटनगरमा हुँदैछ ।  

प्रदेशसभाका प्रमुख डा गोविन्द सुब्बाले सबैभन्दा पहिले प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य ओम सरावगीलाई शपथग्रहण गराउनेछन् । त्यसपछि, ज्येष्ठ सदस्यले अन्य प्रदेश सदस्यहरुलाई शपथ ग्रहण गराउनेछन् । 

प्रदेश नं १ का १४ जिल्लाका २८ वटा संसदीय क्षेत्रका ५६ वटा प्रदेशसभाका ५६ जना निर्वाचित र समानुपातिका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन् । 

यसैगरी  प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रहण अस्थायी राजधानी जनकपुरस्थित उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा हुँदैछ  । 

शपथका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम आइसकेको र शपथ ग्रहण समारोह स्थलमा सम्पूर्ण तयारी शनिबार नै पूरा भइसकेको उनले बताए ।  प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहेका छन् । 

३ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको  सपथ हेटौडामा हुँदैछ । आइतबार ९ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा सदस्यमध्येका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ ग्रहण गराएर शपथको सुरुवात गर्ने कार्यक्रम तय भएको छ  ।  बिहान १० बजे ज्येष्ठ सदस्य पौडेलले अन्य ११० प्रदेशसभा सदस्यलाई ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। 

४ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको  सपथ अस्थायी मुकाम पोखरामा  हुँदैछ ।  प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।  उनले साविकको नगर प्रशिक्षण कार्यालयमा  प्रदेश नं ४ का प्रदेशसभा सदस्यमध्येका  ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । 

५ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको  सपथ अस्थायी मुकाम बुटवलमा  हुँदैछ । बुटवल अस्थायी राजधानी तोकिएको  प्रदेश नं ५ मा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सदस्यलाई पद तथा गोपनियताको सपथ गराउने छन् ।   बिहान ११ बजे बुटवल स्थित उद्योग वाणिज्य संघको सभाहलमा शपथ ग्रहण कार्यक्रम तय भएको छ । ५ नं प्रदेशमा प्रत्यक्षतर्फ ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसद निर्वाचित भएका छन् ।

६ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको  सपथ सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा शपथ खुवाउने कार्यक्रम छ ।  प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनेछन् ।  


७  नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको  सपथ प्रदेशको अस्थायी मुकाम तोकिएको धनगढीमा आइतबार जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा सपथग्रहणको कार्यक्रम राखिएको छ । यो प्रदेशमा प्रदेशसभाको प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ प्रदेश सांसद रहेका छन् । 

निर्वाचन आयोगले शुक्रबार प्रदेशप्रमुखको राष्ट्रपति भवनमा शपथ गराएलगत्तै प्रदेश प्रदेशसभाको निर्वाचन प्रतिवेदन हस्तान्तरण गरेको थियो । सो प्रतिवेदन राजपत्रमा प्रकाशित गराएर आइतबारको लागि सपथ ग्रहण कार्यक्रम राखिएको हो । 

प्रदेशसभा सदस्यको शपथग्रहण समारोहमा राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, लब्धप्रतिष्ठित व्यक्तित्व, पत्रकारलगायतलाई निमन्त्रणा गरिएको बताइएको छ । 

सम्बन्धित समाचार

Advertisement