अन्धो कानून र वीर्यको मोल

अनलाइन दर्पण 2018-05-17
img

अविवाहिता महिलाले बच्चा जन्माउन पाउने कानुन पारित हुनु महिला अधिकारका पक्षमा वकालत गर्नेहरुका लागि एउटा ठुलै उपलब्धि हुन सक्छ ।

 तर यो कानुनले उहि बलात्कारबाट ,नाजायज सम्बन्धबाट जन्मेका बच्चाहरुले नागरिक हुनका लागि कसैलाई बाउ भनाउन पर्ने अवस्थाको लगभग अन्त्य होला कि ,अन्यथा जो स्वेच्छाले बिना लोग्ने अामा हुन चाहन्छन् , उनीहरु यहि समाजमा यहि सोचाइमा अडिएर अामा बन्न सक्ने सामाजिक ,मनोवैज्ञानिक स्थिति छ त ? मस्तिष्कमा विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास तीन घुम्ती देखि अनुपम रोशीको उपन्यास कुमारी आमा र राजेन्द्र थापाको उपन्यास खेलौना सम्मका नायिका पात्रहरू फनफनी घुम्छन् । र घुम्छे आफैंभित्रकी अनामिका पनि ………… यदि यो कानुन अनुकूल मातृसत्ता पल्टिने हो भने संसारका आधाभन्दा बढि पुरुष त खेताला मात्रै हुनेछन् ।

 किनभने सन्तानकै लागि महिलाहरु घर बसाउँछन् , मातृ प्रेमकै लागि जीवनका झिनामसिना महत्वकांक्षाहरुको तिलाञ्जली दिन्छन् । प्रकृतिले यसरी भेद गरेको छ र ? मेरो आँगनमा झ्याम्म परेको फूलको बोट छ ,त्यहाँ बर्सेनि साना साना, फूलको रस चुस्ने चराहरु गुँड लगाउँछन् । भाले पोथी दुवै मिलेर घुस्यान ल्याउँछन् र गुँड बनाउँछन् ।

 फुल पारिसकेपछि पोथी ओथारो बस्छे, भाले चरा वरिपरि रेखदेख गर्छ, बच्चा कोरलेपछि आहारा खोजेर ल्याउँछ ,बचेरा दुवै मिलेर हुर्काउँछन् । मलाई यी चराहरुको प्रेम बडा अजिव लाग्छ , कहिलेकाहीँ त्यहि गुँडको पोथी चराको पनि ईष्र्या लाग्छ । चराहरुलाई कसले सिकायो नियम ? कुन कानुनले बाँध्नु परेको छ अहिलेसम्म ? तर मान्छे …………… मान्छे त विवेकशील ,गिदी भएको , मुटु भएको , किन नियममाथि अनेक विनिमय हुन्छ हँ ?? जसरी नारीलाई आमा हुनमा गर्व लाग्छ , पुरुषलाई बाबु हुनुमा लाग्दैन हो ?एउटा नारी अविवाहित आमा बन्नु भनेको एउटा पुरुष पनि त नाजायज बाबु बन्नु हो । 

के पुरुषलाई नाजायज बाबु बन्न छुट छ ? स्वीकार्य छ ? यस्ता कानुनी अधिकारले महिलाको प्रजनन माथिको अधिकार स्वतन्त्र र सुनिश्चित देखाए पनि लैंगिक विभेदको खाडल भने अझै गहिरो बनाउनेछ । पुरुषहरु प्रायोजित हुन थाल्नेछन् र जिम्मेवारी बाट विमुख हुँदै जानेछन् । वीर्यको मोलमा सन्तान सुख बेच्नेछन् । के यो सृष्टि चक्र प्रतिकुल हुने छैन ? अनामिका सजलकाे ब्लगबाट

सम्बन्धित समाचार