फाल्गुन ७, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनुपर्ने बताएकी छन् । पहिलो निर्वाचन दिवसका अवसरमा आज आयोगले यहाँ आयोजना गरेको मूल समारोहमा उनले नेपालको निर्वाचन अभ्यासलाई विश्व मानक अनुरुप बनाइनुपर्नेमा जोड दिइन्।
'लोकतान्त्रिक अभ्यासलाई अघि बढाउने सुरुवात् आजभन्दा ५८ वर्षअघि आजकै दिन भएको थियो, आयोगले संवैधानिक दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ, निर्वाचनलाई अझ सहज, सरल र पारदर्शी बनाइनुपर्छ, लोकतान्त्रिक मुलुकका राम्रा अभ्यासबाट पाठ सिकेर निर्वाचन प्रणालीलाई समृद्ध बनाउन सकिन्छ,' उनले भनिन् ।