अन्योलमा स्ववियु चुनाव, मिनभवनमा आगजनी, त्रिचन्द्रमा ताला

अनलाइन दर्पण 2017-02-24
img


काठमाडौ,१४ फागुन । आठ वर्षको अन्तरालपछि फागुन १८ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा  उम्मेदवारहरुले  संशोधित कार्यतालिका अनुसार आज शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयले सार्बजनिक गरेको कार्यतालिका अनुसार आज  फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ । १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

मिनभवन क्याम्पसमा आगजनी, त्रिचन्द्रमा ताला

विद्यार्थी भर्ना लगायतका विवादका कारण केही क्याम्पसहरुमा आगजनी र तालाबन्दी भएका छन् । भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका छन् । आगजनीका कारण करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । सो क्याम्पसमा स्ववियु निर्वाचन पनि अनिश्चित भएको छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा वैद्य माओवादी निकट अखिल क्रान्तिकारीले विद्यार्थीको रजिष्टर जलाएको छ । स्ववियु चुनावको लागि विद्यार्थी परिचयपत्र वितरण भइरहेका बेला क्रान्तिकारी निकट विद्यार्थीहरुले रजिष्टर खोसेर आगजनी गरेका थिए ।
त्रिवि अन्तर्गत ६० आंगिक क्याम्पसमध्ये काठमाडौं उपत्यकामात्रै २२ क्याम्पस छन् । तिमध्ये करिब करिब डेढ दर्जन क्याम्पसमा बिभिन्न विवादहरु सिर्जना भएका छन् । 

केन्द्रीय क्याम्पस कीर्तिपुर र पाटन क्याम्पसमा पनि तालाबन्दी


स्ववियु निर्वाचन नजिकिएसँगै बिभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनहरुले शुक्रबार तालाबन्दी गरेका छन् ।
पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी भएको छ । क्याम्पसमा गरिएको एकमुष्ठ विद्यार्थीको फर्जी भर्ना खारेज गर्नुपर्ने, तीन विद्यार्थी संगठन (नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी)को सिण्डीकेट खारेज हुनुपर्ने लगायतका माग राखी तालाबन्दी गएकिो हो ।
अखिल क्रान्तिकारी (मोहन वैद्य), अखिल क्रन्तिकारी (विप्लव), नयाँ शक्ति विद्यार्थी युनियन लगायतले ताला लगाएका हुन् ।

यसैगरी डोल्पा सदरमुकाम दुनैस्थित डोल्पो क्याम्पसमा पनि तीन दिनदेखि तालाबन्दी छ । त्रिभुवन विश्वविद्यालयको निर्देशिका विपरित क्याम्पस प्रशासनले विद्यार्थी भर्ना गरेको भन्दै एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
गुल्मीको रुद्रावती बहुमुखी क्याम्पसमा लगाइएको ताला पनि खुलेको छैन ।


तराई-मधेसका ८ जिल्लाका क्याम्पसमा पनि तालाबन्दी


संविधान संशोधन विना स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको भन्दै असन्तुष्ट मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले तराई मधेसका क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्लाहरुका प्रमुख क्याम्पसहरुमा ताला लगाइएको छ ।
धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट लगायत जिल्लाका क्याम्पसहरुमा मधेस केन्दि्रत दल निकट विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचन हुन नदिने बताएका छन् ।

सम्बन्धित समाचार

Advertisement