अशाेक नेपाल
लोकल बस
म अन्तिम सिटमा छु
देखिरहेछु
कपाल फुलेका, रङ्ग्याइएका
कपालै नभएका टाउकाहरु
जुधिरहेका छन् एकअर्कासँग ।
धर्काहरु आफैँआफैँसँग
मडारिए जसरी मडारिएका छन्
तिनै टाउकाहरुमाथि
साना, ठुला, मसिना
अनि अजङ्गी पाखुराहरू
हो
भीड छ गाडीभित्र
कोचिएका छन् थरिथरिका मान्छेहरु ।
कुनामा
एउटा शिक्षक
एक टक टोलाइरहेछ एयरपोर्टतिर
वर्षौं पहिले नै देखिसकेको हो उसले
विदेशिने सपना
सायद
उसको लागि यो गाडी
कहिल्यै रोकिएन एयरपोर्ट अगाडि
र त सम्झन्छ
एयरपोर्टसँगै
बिस्तारै….
छुट्टिगएका समुन्द्रपारिका सपनाहरु ।
क्यामरा जोगाउन खोज्दै
ठेलमेलमा उभिएको छ
एउटा सिकारु पत्रकार
सोच्दैछु
छन् कि छैनन् होला
उसका क्यामराका रिलहरुमा
पश्चिम, सुदूरपश्चिमका तस्बीरहरु
लेख्छ कि लेख्दैन होला उसले
गरिबी-कुपोषणका समाचारहरु ।
तेस्रो सिटमा
अँगाली बसेकाछन् एकअर्कालाई
एक जोडी प्रेमी-प्रेमिका
मानौं त्यो अँगालो
ब्रह्माण्ड हो प्रेमको
केवल दुइटा ग्रहहरुको ब्रह्माण्ड ।
महिलासिटमा आशिन
केहि ठिटीहरु लेखिरहेछन्
आरक्षणका पक्षमा उत्ताउला टुइटहरु
अगाडिपट्टि भुइँमा
थोरै अडेसिएर
टुक्रुक्क बसेकीछन्
एक वृद्ध आमा
दसकौं पुरानो ]
उनको हरियो फरिया नै हो सायद
ति टुइटहरुको कथानक ।
कतैबाट आइरहेछ
पसिना र खैनीको कक्टेल गन्ध
अशक्त सिटमा बसेका
बलिया युवाहरु मनपराउँदैनन्
यो ‘श्रम’को मात ।
एउटा विद्यार्थी पनि छ गाडीभित्र
बोकेको छ चुँडीनै लागेको झोला झोला
भित्र हुँदा हुन्
खिया लागेको फर्मुलाहरु एक थान
गुरुकुल शिक्षाको घोषणा पत्र
पार्टीका पर्चाहरु एक बन्डल
अनि उसको अन्धकार भबिष्य ……..
यी मान्छेहरु छिचोल्दै
म आइपुगेको छु ढोका छेउमा
सहचालक झुण्डिएको छ ढोकामा
आकाशतर्फ नियालेर गुनगुनाउँदै छ
“देशले रगत मागे मेरो बली
………………………….”