काठमाडौं, १५ साउन। नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् । बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
नेकपा विप्लव समूहका काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्लामा आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा दुइवटा गाडीमा आगजनी गरेका छन् ।
बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।
आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएकाे छ ।
हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी गरेको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।
नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।