अंगद यादव/ नवलपरासी पश्चिम, २१ जेठ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाले आफैले भिटिएम खरिद गरी स्वाव संकलन शुरु गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा भिटिएम अभाव भएका कारण स्वाव संकलनमा ढिलाई हुँदा क्वारेन्टाईनमा बस्नेको संख्यामा बृद्धि भएको र जोखिम समेत बढेने भएको भन्दै गाउँपालिकाले भिटिएम खरिद क्वारेन्टाईनमा बस्नेको स्वाव संकलन गर्ने कार्यलाई तिब्रता दिएको हो ।
गाउँपालिकाले ४ सय भिटिएम खरिद गरेर क्वारेन्टाईनमा रहेकाहरुको स्वाव संकलन गर्न सुरु गरिसकेको अध्यक्ष राम प्रसाद पाण्डेयले बताएका छन् । मंगलबार मात्रै ७८ जनाकोे पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको र उनीहरुको स्वाव गाउँपालिकाको गाडिमा राखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा पठाईएकोे पाण्डेयले जानकारी गराए ।
अब क्वारेन्टाईनमा बसेकाहरुको ५ दिनमा स्वाव संकलन गरिने र उनीहरुको रिपोर्ट नेगेटिभ आए घर पठाईने पाण्डेयले बताएका छन । सुस्ता गाउँपालिकामा यस अघि २ जनामा कोरोना संक्रमण देखिएकोमा उनीहरु दुवै जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
अन्य स्थानिय तहहरुमा भने भिटिएम अभाव भएपछि बढि मात्रामा आर डि टी किट मार्फत पनि परिक्षण गरिएको छ भने कम मात्रामा स्वाव संकलन गरिएको छ । यसरी आफैले भिटिएम खरिद गरी स्वाव संकलन गर्नेमा सुस्ता गाउँपालिका पहिलो भएको छ ।