दोलखा- विगु गाउँपालिकाको एक माध्यामिक विद्यालयमा एकै पटक अज्ञात रोगबाट सैयौं विद्यार्थी र शिक्षकहरु बिरामी परेका छन् । गाउँपालिकाको वडा नम्बर ८ खोपाचाँगुमा रहेको हिमालय माध्यामिक विद्यालयका १ सय २ जना विद्यार्थी र ६ जना शिक्षक तथा कर्मचारीहरु बिरामी परेको प्रधानाध्यापक कालु जिरेलले जानकारी दिनुभयो ।
बिहीबार विद्यालयकी नर्सले विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य जाँच गर्ने क्रममा बिरामीहरुमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने तथा टाउको दुख्ने समस्या देखिएको हो ।
झण्डै एक हप्तादेखि विद्यार्थी तथा शिक्षकहरुमा सामान्य ज्वरो तथा रुघाखोकी देखिएको भएपनि निको होला भनेर सामान्य उपचार प्रक्रिया अपनाईएको भएपनि विरामी हुनेको संख्या दिनदिनै बढेर बिहीबारसम्म विद्यार्थी र शिक्षक तथा कर्मचारी गरी १ सय आठ पुगेको प्रधानाध्यापक जिरेलले बताउनुभयो । उहाँका अनुसार विरामीको संख्या दिनदिनै बढेर कक्षा कोठा नै खाली हुने अवस्था आउन थालेपछि बिहिबार गाउँपालिकामा खबर गरिएको हो ।
गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले केहि दिनका लागि विद्यालय बन्द गराउन आफूले सल्लाह दिएको र शुक्रबार पालिकाको स्वास्थ्य शाखाको टोलिलाई घटनास्थलमा पठाएर थप कदम चाल्ने बताउनुभयो ।
प्रधानाध्यापक जिरेलले भने शुक्रबार विद्यालयमा विद्यार्थीको उपस्थिती तथा गाउँपालिकाको शिक्षा शाखासँगको समन्वयमा विद्यालय बन्द गर्ने वा नगर्ने विषयमा निर्णय लिईने बताउनुभयो ।
कक्षा १२ सम्म पठनपाठन हुने उक्त विद्यालयमा ३ सय ९१ जना विद्यार्थी अध्ययनरत छन भने १८ जना शिक्षकहरु कार्यरत रहेको विद्यालयले जनाएको छ ।