प्रिय कमरेड प्रचण्ड !
रोल्पाको एउटा गाउँमा, तालमेलको आशामा !
दिन, महिना र कैयौं बर्ष बिते !
बेपत्ता पारिएकी बुढी आमाकी एक्लि छोरी, सधैं सपनामा सोध्छे रे आमालाई !
मलाई खोज्न कहिले, कोसँग र कसरी तालमेल हुदैछ ?
यता आमा कांग्रेसि सुराकिमा मारिएका, श्रीमानको वियोग र छोरीको सम्झनामा
सहकार्य गर्दैछिन, अलिकति बचेका आँसुसँग !
प्रतीक्षाको चौतारीमा अपेक्षाको पुरानो रेडियो सुन्दै !!
रामेछापको दोरम्बामा, प्रत्येक राती सहिदहरु बोल्छन् रे
मान्छेको मृत्यु त एक पटक पो हुन्छ, तर हाम्रो निर्मम हत्या किन भइरहेको छ पटकपटक ?
हामीले कहिल्यै देख्न नपाएका, भेट्न नपाएका, सुप्रिमो कमरेड प्रचण्डलाई सोधिदेउ,
हाम्रो अन्तिम हत्या गर्न कहिले, कोसँग र कसरी तालमेल हुदैछ ?
खारा आक्रमणमा, हातका औंला गुमाएको कमरेड तुफान नेपालभित्र अयोग्य भनिएपछि,
खाँडिको प्रचण्ड गर्मीमा पसिनाले नुहाएर खुट्टाका औंलाले
कम्प्युटरको किबोर्ड थिच्छ सकि नसकी !!
श्रदय अध्यक्ष कमरेड, बधाई छ तपाईंलाई
कम्तीमा आफ्नी छोरीलाई त सुरक्षित गर्नुभो !
जेठ ३१ मा पनि ज्वाइका लागि, अवश्य तालमेल गर्नुहोस् !!
बरु कसैले अवरोध पुर्याए, जेल हाल्दिए हुन्छ विप्लवलाई
नजरबन्दमा राख्दिए हुन्छ किरणलाई!
आफन्तहरू प्रिय लाग्छन् भने यदि
केही पार्टीसंग बाँकी नै राख्नुहोला हाललाई
अर्कोपटक पनि त चुनावमा भाग लिनुछ!!
- उमाकान्त शर्मा, कर्णाली