बालबालिकालाई प्रविधिको कुलतबाट कसरी जोगाउने

अनलाइन दर्पण 2017-08-30
img

स्मार्टफोन अथवा आइप्याड चलाउँदै गरेको अवस्थामा बालबालिकाको दिमागको अध्ययन गर्दा डरलाग्दो कुरा पत्ता लागेको छ । यस्ता सामाग्री चलाउने केटाकटीको दिमागको अगाडिपट्टिको भाग (फ्रोन्टल कोर्टेक्स)मा नराम्रो असर पर्छ । डरलाग्दो कुरा के छ भने स्मार्टफोन चलाउँदा केटाकेटीको फ्रोन्टल कर्टेक्समा जस्तो असर पर्छ, त्यस्तै असर कोकिन लिने मानिसको फ्रोन्टल कर्टेक्समा परेको हुन्छ । अर्थात्, बालबालिकाका लागि स्मार्टफोनको अम्मल भनेको कुनै वयष्कका लागि कोकिनको अम्मलजस्तै हो।

हाल ललितपुरको नख्खु बस्ने सबिता न्यौपाने (नाम परिवर्तन) शिक्षक हुन् । स–साना विद्यार्थीको मनोभाव बुझेर उनीहरुलाई शैक्षिक क्रियाकलापमा संलग्न गराउने कुशलता उनीसँग रहेको भन्दै विद्यालय व्यवस्थापनले उनलाई साना कक्षाका विद्यार्थीको जिम्मा सुम्पिएको छ । स्कुलले उनीमाथि विश्वास गरे पनि साना बालबालिका ‘ह्यान्डल’ गर्ने आफ्नै क्षमताप्रति उनी स्वयंलाई चाहिँ त्यति विश्वास छैन।

‘मेरो छोरा मन्टेसरीमा पढ्छ । मोबाइलप्रतिको उसको आशक्तिले घरका सबैलाई आजित बनाइसकेको छ । घरकै बच्चालाई सम्हाल्न सकिरहेको छैन, स्कुलले विश्वास गरेर दिएको जिम्मेवारीलाई कसरी राम्रोसँग पूरा गर्न सक्छु होला,’ उनले भनिन् ।

उनको छोरा सुमन आउँदो मंसिरमा चार वर्षको हुँदैछ । यति कलिलो उमेरमै ऊ स्मार्टफोनको कुलतमा फसिसकेको छ । ‘कहिलेदेखि ऊ मोबाइलको कुलतमा फँस्यो थाहा छैन, अहिले सुधार्न अप्ठेरो भइसकेको छ,’ उनले दुःखेसो पोखिन् ।

घरका काममा लागेको बेला छोराले गनगन गर्न अथवा रुन थाल्यो भने सुरु सुरुमा उनले फकाउन स्मार्टफोन दिने गरिन् । खाना खान मानेन भने मोबाइलमा र्‍याम्स, गीत, कार्टुन आदि देखाएर ख्वाउन थालिन् ।

‘रुँदा मोबाइल दिने र खाना खान नमान्दा मोबाइल देखाउने गर्दागर्दै ऊ अब मोबाइल नपाउँदा रुने र मोबाइलमा र्‍याम्स अथवा कार्टुन नहेरी खाना नखाने भइसक्यो,’ उनले भनिन् । अहिले सुमन मोबाइलका लागि घरकासँग किचकिच गर्छ । पाएन भने रुन्छ । मोबाइल नपाइञ्जेल चुप हुँदैन । ‘मोबाइलको कुलतबाट छोरालाई निकालुँ भन्ने सोचेर मोबाइल नदिन खोज्यो, रोएर उत्पात मच्चाउँछ । अन्त्यमा नदिइ हुँदैन,’ उनको भनिन् ।

०००

हिजोआज सुमनको जस्तो समस्या केटाकेटी भएका हरेक घरमा देख्न पाइन्छ । पश्चिमी मुलुकमा स्क्रिनप्रति केटाकेटीको यस्तो अम्मललाई गम्भिर समस्याका रुपमा स्विकार गर्दै यसबाट मुक्त हुने उपायहरूको खोजी गर्न सुरु भइसको छ ।  मनोवैज्ञानिक कक्षा, थेरापी आदिको सहयोगबाट बालबालिकालाई स्क्रिनप्रतिको अम्मलबाट मुक्त गराउने विधिहरूको विकासमा डाक्टर र मनोवेत्ताहरूको ध्यान जान थालेको छ । प्रविधिले बालबालिकामा पारेको प्रभाव न्युनिकरणसम्बन्धी विषयमा विशेषज्ञता हासिल गर्ने डाक्टरहरूले राम्रो आम्दानी गर्ने क्रम पनि सुरु भइसकेको छ।

यस्तै एकजना डाक्टर हुन्, अमेरिकाका डा. निकोलस कार्दारस । पेशाले मनोचिकित्सक उनले लेखेको ‘ग्लो किड्सः हाउ स्क्रिन एडिक्सन इज हाइज्याकिङ आवर किड्स’ शीर्षकको किताबप्रति अभिभावकहरुले ठूलो चासो देखाइरहेका छन् । केही महिनाअघि अमेरिकाको न्युयोर्क पोस्टमा प्रकाशित लेखमा उनले आफूले अहिले डिल गरिरहेको प्रविधिको अम्मलसम्बन्धी एउटा केसबारे चर्चा गरेका छन् ।

स्मार्टफोन चलाइरहेका बालबालिकाबाट स्मार्टफोन खोसियो भने उनीहरु झनक्क रिसाउँछन् । रुन्छन्, कराउँछन् । स्मार्टफोन खोस्नेमाथि हमला गर्न पनि पछि पर्दैनन् । स्मार्टफोन चलाउन नपाउँदा आलस्य, उदास हुने र कुनै पनि कुरामा अभिरुची नदेखाउने खालका एकोहोरो हुन्छन् ।
उनको क्लिनिकमा परामर्श लिन आएकी एकजना महिलाले छोरा जोनलाई कक्षा एकमा पढ्दै गर्दा आइप्याड किनिदिएकी थिइन् । बालबालिकामा सानैदेखि प्रविधिप्रति रुची पैदा गर्न सके र यसप्रति उनीहरुलाई अभ्यस्त बनाउन सके उनीहरु भविष्यमा सफल मानिस बन्नेछन् भनेर जोनको प्रविधिसम्बन्धी शिक्षकले उनलाई भनेका थिए । छोराको उज्वल भविष्यको कामना गर्दै उनले आइप्याड किनिदिइन् ।

बेसबल खेल्न र पढ्न भनेपछि जोन हुरुक्क हुन्थ्यो । घरका मानिससँग झ्यामिन्थ्यो । आइप्याड हात परेपछि जोनको स्वभाव बदलिँदै गयो । बेसबल छोडेर ऊ  डिजिटल गेम खेल्न थाल्यो । ‘माइनक्र्याफ्ट’ गेमप्रति उसले बढी अभिरुची राख्न थाल्यो । यो गेम खेल्दै गर्दा अर्को ‘लेभल’मा पुग्न जनावरआदीको हत्या गर्नुपर्छ । उसको कलिलो मस्तिस्कमा हिंसाको बिउ रोपियो ।

मध्यरातसम्म आँखा रातो हुने गरी उसले आइप्याडमा गेम खेल्न थाल्यो । बेसबल खेल्न, साथीभाइसँग कुद्न ठ्याम्मै छोड्यो । बाउआमासँग झ्याम्मिन बन्द गर्‍यो । ‘छोरा, धेरै आइप्याड चलाउनु हुँदैन’ भनेर आइप्याड खोस्दा रुन, कराउन र हमला गर्न थाल्यो । एक रात उनलाई लाग्यो– कुरा नराम्रोसँग बिग्रिसकेको छ । त्यसपछि उनी छोरालाई प्रविधिको कुलतबाट निकाल्ने उपाय खोज्दै डा. निकोलसको सम्पर्कमा पुगिन् ।

०००

अमेरिकाको बोस्टन विश्वविद्यालयको चिकित्सा विभागका अनुसन्धानकर्ताहरुले स्मार्टफोन अथवा आइप्याडले बालबालिकामा पार्ने प्रभावबारे अध्ययन गरेका थिए । स्मार्टफोन अथवा आइप्याड चलाउने केटाकेटीमा सिक्ने क्षमता र आत्मअनुशासन कम हुने निश्कर्ष अध्ययनले निकालेको थियो । साथै बालबालिकाको मानसिक र सामाजिक विकासमा पनि यसले अवरोध गर्ने बताइएको थियो । स्मार्टफोन अथवा आइप्याडलाई ‘शैक्षिक सामाग्री’का रुपमा प्रयोग गरिने चलनमाथि प्रश्न उठाउनुपर्नेमा अनुसन्धान प्रतिवेदनमा जोड दिइएको थियो । डिजिटल सामाग्रीमा भन्दा ‘मानिससँगको प्रत्यक्ष संवाद’मा जोड दिनुपर्ने प्रतिवेदनमा जनाइएको थियो ।

०००
बालबालिकाको अहिलेको पुस्ता डिजिटल ग्याजेट चलाउँदै हुर्किरहेको पहिलो पुस्ता हो । त्यही भएर यसले बालबालिकामा पार्ने प्रभावबारे धेरै कुरा पत्ता लाग्न बाँकी नै छ । जति पत्ता लागेको छ, यसबाट बालबालिकाको शारिरीक र मानसिक विकासमा स्मार्टफोन र आइफोनले वाधा हाल्ने गरेको प्रमाण देखिएको छ ।

स्मार्टफोन चलाइरहेका बालबालिकाबाट स्मार्टफोन खोसियो भने उनीहरु झनक्क रिसाउँछन् । रुन्छन्, कराउँछन् । स्मार्टफोन खोस्नेमाथि हमला गर्न पनि पछि पर्दैनन् । स्मार्टफोन चलाउन नपाउँदा आलस्य, उदास हुने र कुनै पनि कुरामा अभिरुची नदेखाउने खालका एकोहोरो हुन्छन् ।

स्मार्टफोन अथवा आइप्याड चलाउँदै गरेको अवस्थामा बालबालिकाको दिमागको अध्ययन गर्दा डरलाग्दो कुरा पत्ता लागेको छ । यस्ता सामाग्री चलाउने केटाकटीको दिमागको अगाडिपट्टिको भाग (फ्रोन्टल कोर्टेक्स)मा नराम्रो असर पर्छ । फ्रोन्टल कोर्टेक्सले शरीर सञ्चालनको मुल तत्वलाई नियन्त्रण गर्ने गर्छ । आवेग नियन्त्रण (इम्पल्स कन्ट्रोल) गर्ने काम पनि फ्रोन्टल कर्टेक्सकै हो ।

डरलाग्दो कुरा के छ भने स्मार्टफोन चलाउँदा केटाकेटीको फ्रोन्टल कर्टेक्समा जस्तो असर पर्छ, त्यस्तै असर कोकिन लिने मानिसको फ्रोन्टल कर्टेक्समा परेको हुन्छ । अर्थात्, बालबालिकाका लागि स्मार्टफोनको अम्मल भनेको कुनै वयष्कका लागि कोकिनको अम्मलजस्तै हो । स्मार्टफोन चलाउँदै गर्दा बालबालिकाको शरीरमा डोपामाइन हार्मोन उत्सर्जन ह्वात्तै बढेको हुन्छ ।  डोपामाइन हार्मोनले मानिसलाई आनन्द महसुस गराउँछ । सेक्स गर्दै गर्दा मानिसमा डोपामाइन हार्मोन बढी उत्सर्जन हुने भएकाले सेक्स मानिसका निम्ती अभिरुचीको क्रिडा हुन पुगेको हो ।
 
बिहेव्यरल न्युरोसाइन्समा विद्यावारिधी गरेकी डा. बेथानी ब्रोकशाइर भन्छिन्, ‘डोपामाइन प्रेम हार्मोन हो । यो कामोत्तेजना बढाउने हार्मोन पनि हो । जुवामा लिन जुवाडेको शरीरमा पनि यही हार्मोन उत्सर्जन भएको हुन्छ । लागूऔषधमा लिन भएको अम्मलीले पनि यही हार्मोनले गर्दा आनन्द पाएको हुन्छ ।’ स्मार्टफोन चलाउने बालबालिकाको दिमागमा यही हार्मोन बढी उत्सर्जन हुने भएकोले स्मार्टफो चलाउन पाउँदा उनीहरु रमाउँछन् ।

स्मार्टफोन चलाउनमा कसैले अवरोध गर्‍यो भने कोकिन लिन अवरोध पुर्‍याउनेमाथि कोकिनको अम्मली झम्टिएझैं बालबालिकाहरु झम्टिन्छन् । त्यही भएर क्यालिफोर्निया विश्वविद्यालयअन्तर्गतको न्युरोसाइन्स विभागका निर्देशक डा. पिटर ह्वाइब्रोले स्मार्टफोन, आइफोनजस्ता स्क्रिनयुक्त प्रविधिलाई ‘इलेक्ट्रोनिक कोकिन’को सँज्ञा दिएका छन् । चिनियाँ अनुसन्धानकर्ताले चाहिँ यसलाई ‘डिजिटल हेरोइन’ भनेका छन् । विभिन्न अध्ययनले स्मार्टफोनका अम्मलीहरूमा डिप्रेसन र चिन्तासँगै आक्रामकता पनि बढि हुने देखाएको छ । त्यस्ता मानिस जीवनका वास्तविकताबाट अलिक टाढै हुन्छन् ।

बालबालिकाका लागि स्मार्टफोनको अम्मल भनेको कुनै वयष्कका लागि कोकिनको अम्मलजस्तै हो । स्मार्टफोन चलाउँदै गर्दा बालबालिकाको शरीरमा डोपामाइन हार्मोन उत्सर्जन ह्वात्तै बढेको हुन्छ।  डोपामाइन हार्मोनले मानिसलाई आनन्द महसुस गराउँछ । सेक्स गर्दै गर्दा मानिसमा डोपामाइन हार्मोन बढी उत्सर्जन हुने भएकाले सेक्स मानिसका निम्ती अभिरुचीको क्रिडा हुन पुगेको हो।
०००

रोचक कुरा के छ भने छोराछोरीको कलिलो मस्तिस्कलाई प्रविधिले विकृत नतुल्याओस् भन्नेमा सबैभन्दा बढी सचेत प्रविधि जगतका बादशाहहरु नै छन् । धेरै प्राविधिक डिजाइनर र प्राविधिक इन्जिनियरले कलिला छोराछोरीलाई स्मार्टफोन, आइप्याड आदिबाट टाढै राखेका छन् ।

त्यस्ता अभिभावकमध्येमा पर्छन्, एप्प्लका एप्पलका संस्थापक स्टिभ जब्स । संसारभरका मानिसलाई आइफोन उपलब्ध गराएका उनले आफ्ना छोराछोरीलाई चाहिँ ठूलो नभइञ्जेल आइफोनलगायत डिजिटल ग्याजेटबाट टाढै राखे । ‘घरमा केटाकेटीले कुन हदसम्म प्रविधि चलाउन् भन्नेमा प्रस्ट हुनुपर्छ, सकेसम्म कम चलाउन दिनुपर्छ,’ उनले भने । उनी मात्र होइन, प्रविधिको राजधानी भनि चिनिने अमेरिकाको सिलिकन भ्यालीका सञ्चालकमध्ये अधिकांशले प्रविधिरहित अथवा न्युनतम प्रविधि प्रयोग हुने वातावरणमा छोराछोरीलाई हुर्काइरहेका छन् । 

स्कुलमा स्मार्टफोन लैजान नदिने, घरमा बढी प्रयोग गर्न नदिने र हप्तामा एक दिन प्रविधिबाट छोराछोरीलाई पूर्णत अलग राख्ने अभ्यास धेरैले गर्ने गरेका छन् । सिलिकन भ्यालीका कतिपय कार्यकारी प्राविधिक र इन्जिनियरहरूले त छोराछोरीलाई प्रविधिरहित स्कुलमा पढाएका छन् । गुगलका संस्थापक सेर्गी ब्रिन र ल्यारी पेजले आफ्ना सन्तानलाई प्रविधिरहित मोन्टेसोरी स्कुलमा भर्ना गराएपछि उनी चर्चाको पात्र बनेका थिए । अनलाईन बजार अमेजोन डटकमका निर्माता जेफ बेजोस र विकिपेडियाका संस्थापक जिमी वेल्सले पनि त्यसै गरेका छन् ।

यस्तै अभिभावमा पर्छन, थ्रि डि रोबोटिकका प्रमुख कार्यकारि अधिकृत क्रिस एन्डर्सन । ‘सातदेखि १७ वर्षबीचका मेरा छोराछोरी मलाई तानशाह भन्छन्, किनकी म उनीहरुलाई प्रविधि सकेसम्म कम चलाउन दिन्छु । प्रविधि प्रयोग गर्ने पहिलो पुस्ताको मानिस भएकोले प्रविधिको खराब असरको भुक्तभोगिमध्येमा म स्वयं पनि पर्छु, यस्तो परिणाम मेरो छोराछोरीमा दोहोरिन म दिन्न,’ उनले भने । स्मार्टफोनमा बढी समय बिताउन दिए उनीहरु पोर्नोग्राफीमा लिप्त हुने र असामाजिक बन्ने जोखिम रहन्छ भन्ने उनलाई लाग्छ । ‘उनीहरु प्रविधिका अम्मली भए भने कुरा धेरै जटिल हुनेछ भन्नेमा म सचेत छु,’ उनले भने ।

आउटकास्ट एजेन्सीका प्रमुख कार्यकारी एलेक्स कन्सटेन्टिनोपोलले १० देखि १३ वर्षका छोराछोरीलाई दिनमा ३० मिनेछ मात्रै ग्याजेट चलाउन दिन्छन् । ट्वीटरका संस्थापक इभान विलियम्सले त आइप्याडको सट्टा छोराछोरीका लागि घरको लाइब्रेरिमा विभिन्न विधाका सयौं किताब राखिदिएका छन् । बल मनोचिकित्सक डा. निकोलस कार्दारसले त आफ्ना नौ वर्षीय जुम्ल्याहा छोरालाई ट्याबलेट चलाउन अथवा भिडियोगेम खेल्न दिएको छैन ।
०००

प्रविधिको अम्मलमा फसिसकेका बालबालिकालाई अम्मलमुक्त गर्ने काममा डा. निकोलस हिजोआज व्यस्त छन् । लागूऔषध, डिजिटल अथवा अन्य अम्मलमा डुबिसकेका बालबालिका माथि गरिने थेरापीलाई प्रभावकारी बनाउन सर्वप्रथम उनीहरूलाई ‘डिटक्सीफाइ’ गर्नुपर्ने हुन्छ । ‘डिटक्सीफाइ’ गर्न स्मार्टफोन, आइप्याडलगायत डिजिटल वस्तुदेखि पर राख्नुपर्ने । अम्मल कडा खालको छ भने टेलिभिजनबाट पनि अलग राख्नुपर्छ । चारदेखि छ हप्तासम्म यसो गरिएमा अम्मली बालबालिकाको चरम रुपमा उद्वेलित स्नायु प्रणाली सामान्य अवस्थामा आउने र थेरापीको असर देखिने उनको अनुभव छ । डिजिटल वस्तुबाट अलग गर्दा उनीहरु रोए भने उनीहरुलाई फकाउने वैकल्पिक उपाय खोज्नुपर्ने उनी बताउँछन्।

सुरुमै सावधानी अपनाए बालबालिकालाई डिजिटल वस्तुको अम्मली बन्नबाट रोक्न सकिने डा. निकोलास बताउँछन् । यसका लागि बालबालिकालाई सानैदेखि स्मार्ट फोन खेलाउन दिनुको सट्टा प्लास्टिकका क्युब जोडेर विभिन्न आकृति निर्माण गर्ने खेल खेल्न सिकाउनुपर्छ । आइप्याडमा नभई सिधै किताब पढ्ने बानी बसाउनुपर्छ । समय काट्न टिभी हेर्न दिनुको सट्टा घुमाउन अथवा खल्न लैजाने गर्नुपर्छ ।

आइप्याड अथवा स्मार्ट फोनमा खेल्न दिनुको सट्टा मैदानमा खेलिने फुटबल, क्रिकेटआदी खेलमा लगायो भने यसबाट बालबालिकाको शारिरीक र मानसिक विकासमा टेवा पुग्छ । १० अथवा १२ वर्षको नभइञ्जेलसम्म स्कुलमा पनि उनीहरूलाई डिजिटल ग्याजेटबाट सकेसम्म टाढा राख्नुपर्र्छ। बालबालिकासँग खाना खान बस्दा छेउमा कुनै पनि डिजिटल ग्याजेट राख्नु हुँदैन। स्टिभ जब्स पनि घरमा छोराछोरीसँग प्रविधिरहित वातावरणमा खाना खाने गर्थे। त्यस्तै बाबुआमाले पनि स्क्रिनमा घोत्लिने गर्नु हुँदैन। नत्र छोराछोरीले उनीहरूकै सिको गर्ने जोखिम रहन्छ।स्वास्थ्य खबरपत्रिकाबाट

सम्बन्धित समाचार

Advertisement