आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ जनासँग स्पष्टीकरण माग

अनलाइन दर्पण 2026-01-31
img

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। आचारसंहिता, २०८२ प्रभावकारी रूपमा लागू गर्दै आयोगले उल्लङ्घन नियन्त्रणका लागि गतिविधि तीव्र पारेको जनाएको छ।

आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न आयोगले सरोकारवाला सबै पक्षलाई सचेत गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्थासहित २१ जनासँग स्पष्टीकरण मागिएको छ। तीमध्ये पाँच जनाबाट मात्र जवाफ प्राप्त भएको र बाँकीलाई पुनः ताकेता गरिएको आयोगले जनाएको छ।

मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्तिमार्फत आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि निगरानी बढाइएको छ। गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउने पहल भइरहेको आयोगले स्पष्ट पारेको छ।

आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्ण रूपमा सक्रिय रहेको छ। उक्त इकाइले हालसम्म ३०२ वटा हानिकारक सूचना पहिचान गरी निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचनको मर्यादा र स्वच्छतामा आँच पुग्ने गतिविधि देखिएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले जनाएको छ।

सम्बन्धित समाचार

Advertisement