अशोक कुँवर ‘नेत्र’काे कविता: आइसी नम्बर आठ सय दस

अनलाइन दर्पण 2017-08-27
img

म आइसी नम्बर आठ सय दस
विदेशी दलाल
या भन्न सक्नु हुन्छ कन्ट्रोलित यन्त्र
मेरो यहाँ उपस्थितिको अर्थ यही छ कि
मैले चार चार वाटका
दुइटा स्पिकर बजाउनु छ ।

म आइसी नम्बर आठ सय दस
इन्टरग्रेटेड सर्किट
बाहिर सरल
भित्र रहस्यमय गाँठाहरू
जस्तो मेरा बार ग्रिडहरू छन्
आठ नम्बरको ग्रिडबाट
अडियो फ्रिक्वेन्सी इनपुट गरिएको छ
एक नम्बरको ग्रिडबाट
बार भोल्ट रेगुलेटेड भोल्टेज
जसले मेरा अङ्ग अङ्गमा 
शक्ति सञ्चार गर्छ ।

म आइसी नम्बर आठ सय दस
लो फ्रिक्वेन्सीलाई 
हाई फ्रिक्वेन्सीमा कन्भर्ट गर्ने
कैयौँले त भन्छन्
म सर्किटको मुटु हुँ
म नभए सर्किटले कामै गर्दैन
रजिस्टर, 
क्यापासिटर, 
डायोड, 
पिएफ कन्ट्रोलर
यी सबैले मान्नै पर्ने उपकरण हुँ म
तर
मलाई लाग्दैन यस्तो
किनकि
टेक्निसियनले मलाई 
काम दिएको छ दलाली गर्ने
लो फ्रिक्वेन्सीलाई हाई फ्रिक्वेन्सीमा
कन्भर्ट गर्ने
अर्थात्
सानोलाई ठुलो बनाउने दलाली ।

म आइसी नम्बर आठ सय दस
मेरो अस्तित्व यिनै टेक्निसियनको
वायर, 
पेस्ट, 
आइरनमा निर्भर छ
यसैले मलाई जडान गरेको छ बोडमा
बुद्धिमान् र दूरदर्शी टेक्निसियनले
मेरो तालुमा हिटसिङ्क जड्दै ।

म सक्दिनँ प्रतीकार गर्न
तात्नलाई, 
मात्नलाई
टेक्निसियनले हिटसिङ्क जडेको छ 
तालुमा
जसको काम 
मेरो तातोपना सोस्नु हो
रातोपना खोस्नु हो ।

म आइसी नम्बर आठ सय दस
स्पिकर, 
ट्रान्सफर्मर, 
आरएफको एजेन्ट
जसको मध्यस्थता मैले गरि दिनु छ
जसलाई मैले पाल्नु छ, 
पोस्नु छ
मलाई 
अरूले महत्त्वपूर्ण ठाने पनि
म मात्र दलाल हुँ
दलाली गर्ने
मलाई यस बोडमा जडान गर्ने त 
कोही अर्कै हुन्
मेरो यहाँ उपस्थितिको अर्थ यही छ कि
मैले चार चार वाटका
दुइटा स्पिकर बजाउनु छ ।


(कवि कुँवर प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य हुन् ।)

सम्बन्धित समाचार