हनुमन्ते खरीबोट सडक शिल्यान्यास

अनलाइन दर्पण 2017-08-30
img

भक्तपुर । भक्तपुर जिल्ला मध्यपुर नगरपालिका वडा नंं ४ हनुमन्ते पुलबाट सूर्यविनायक नगरपालिका वडा नं. ४ जोड्ने खरीबोटसम्मको सडक निर्माण कार्यको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले  शिल्यान्यास गर्नु भएको छ । करिब २५० मिटर लम्बाइको उक्त सडकलाई ११ मिटर चौडाईमा विस्तार गर्ने योजना सहित सडक निर्माण कार्य सुरु भएको हो ।

कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले जनताको चाहना र नगरको प्राथमिकता अनुसार सडक निर्माण कार्यको थालनी गरिएको बताउनुभयो । उहाँले निर्माण थालनी भएको योजना समयसिमाभित्रै सम्पन्न गर्न पनि जिम्मेवार संस्थालाई निर्देशन दिनुभयो । जननिर्वाचित भएपश्चात जनताको आधारभूत आवश्यकता, सडक, खानेपानी, ढल निकास जस्ता बिषय नगरको पहिलो प्राथमिकतामा रहेको थापाले बताउनुभयो ।

सूर्यविनायक नगरपालिका, सडक विभाग र नगर विकास प्राधिकरणको करिब ४० लाखको आर्थिक सहयोगमा निर्माण हुने उक्त सडक निर्माण कार्यको समाधान कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएको छ ।

सूर्यविनायक नगरपालिका वडा नंं ४ (सविक दधिकोट) जोड्ने हनुमन्ते पुल पूर्व उद्योगमन्त्री महेश बस्नेतको विशेष सक्रियतामा यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । सो पुल निर्माण भइसकेपश्चात सडक विस्तार कार्यलाई अगाडि बढाउन वडा नं. ४ ले दुवैतर्फ गरी ११ मिटरको सडक सिमाङ्कन सम्पन्न गरिसकेको वडा अध्यक्ष उत्तम थापाले जानकारी दिनुभयो ।

सडक निर्माण कार्य सम्पन्न भएपश्चात मध्यपुर ठिमीबाट सूर्यविनायक नगरपालिका वडा नं ४, ७ र १ (सविक दधिकोट, गुण्डु र सिरुटार) तथा ललितपुरको लमाटार एवं लुभुका स्थानीय बासिन्दालाई यातायातको छोटो मार्ग बन्ने भएको छ । सडक निर्माण कार्य आगामी कार्तिक महिनासम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको सूर्यविनायक नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

उक्त सडक निर्माण भएपश्चात वडा नंं ७ (साविक गुण्डू पिपल डाँडाबाट, किवाचोक,हर्षचोक) हुँदै काठमाण्डौसम्म सिधा यायातात सेवा सञ्चालन गर्नको निम्ति यसअघि नै निर्णय भइसकेको छ । यसबाट वडा नंं ४ र ७ का बासिन्दाहरुलाई यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ ।
 

सम्बन्धित समाचार