सप्तरी, २ असाेज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सप्तरीकाे सदरमुकाम राजविराज नगरपालिकाको वडा नं २ स्थित आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी बिहान ७:०० बजे मतदान गरेका छन् ।
सो केन्द्रमा सर्वप्रथम प्रमुख आयुक्त यादवले मतदान गरेका हुन् ।
स्थानीय तहकाे तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा अाज (सोमबार) बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान कार्य शुरु भएको छ। मतदाताहरू उत्साहका साथ बिहान ५ बजेदेखिनै मतदान गर्न लामबद्ध भएका छन्।
बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आ-आफना उम्मेदवारलाई विजयी गराउन मतदाताहरू उत्साहित देखिएका छन् ।
मतदानका समयमा शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको बताउँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मतदातालाई निर्धक भई मतदान गर्न आग्रह गर्नुभएकाे छ ।
स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयनका लागि मतदान शुरु भएको हो।