काठमाडौं, २ पुस। सरकारले ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालन गर्न अनुमति दिएको भए पनि अधिकांश होमस्टे सहरी क्षेत्रमै सीमित छन् । होमस्टे कार्यविधि २०७३ ले नेपाल घुम्न आएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतलाई गाउँसम्म पुर्याउने उद्देश्य राखेर निःशुल्क होमस्टे दर्ता गर्ने भए पनि अधिकांश सहरमै केन्द्रित भएका हुन् ।
सरकारले ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने गरी होमस्टे सुरु गरेको भए पनि गत भदौसम्म पर्यटन विभागमा दर्ता भएका होमस्टेमध्ये ५६ प्रतिशत काठमाडौंमा मात्रै छन् ।
विभागमा दर्ता भएका विभिन्न जिल्लाका ९८ वटा होमस्टेमध्ये काठमाडौंमा मात्रै ५५ वटा छन् । काठमाडौंको केन्द्र मानिने कालिमाटी, ठमेल, नयाँ बजार, लाजिम्पाट, थानकोट, बालाजुसहितका क्षेत्रमा होमस्टे सञ्चालनमा छन् ।
हाल नेपालभर साढे दुई सयवटा होमस्टे दर्ता भएकोमा आधाभन्दा बढी सामूदायिक होमस्टे रहेका छन भने आधा निजी होमस्टे छन् । एउटा घरमा बढीमा चारवटा कोठा राखेर सञ्चालन गर्न पाइने निजी होमस्टे देशैभर रहेका छन् । पाँचवटाभन्दा बढी घरलाई समेटर सञ्चालन गरिने होमस्टे भने सामूदायिक हुन् । सरकारले सामूदायिक होमस्टे सञ्चालन गर्ने र ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे कार्यविधि ल्याएको भए पनि निजीलाई पनि नरोकेको पर्यटन मन्त्रालयको भनाइ छ ।
‘होमस्टेको मुख्य उद्देश्य गाउँ नै भएकाले हामीले पछिल्लो समय सहरी क्षेत्रका निजी होमस्टेलाई दर्तामा निरुसाहित गर्न थालेका छौं’, पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने । कार्यविधिले सहरी क्षेत्रमा होमस्टे दर्ता गर्न रोकेको छैन तर भरसक गाउँलाई नै प्राथमिकता दिएर घना वस्तीवरपर तथा सहरी क्षेत्रमा दर्ता निरुत्साहित गरिएको भट्टराईले शनिबार अन्नपूर्णसँग भने । उनका अनुसार विभागका होमस्टे कार्यविधि २०७३ मा संशोधनपछि निःशुल्क दर्ता गर्न पनि रोकिएको छ । उनले अहिले होमस्टे दर्ता तथा नवीकरणमा १० हजार रुपैयाँ लाग्ने व्यवस्था गरिएको बताए । पहिले निःशुल्क दर्ता गर्न दिएर प्रोत्साहन गरिएको भए पनि अहिले करको दायरामा ल्याउन र नियमनका लागि शुल्कको व्यवस्था भएको उनले बताए ।
पर्यटन विभागका एक अधिकारीका अनुसार पछिल्लो समय काठमाडौंको सहरी क्षेत्रमा दर्ता हुन आएका होमस्टेलाई फिर्ता नै गरिएको छ । दर्ता गर्न नमिल्ने भनेर कार्यविधिले नभने पनि ग्रामीण क्षेत्रमा जान प्रोत्साहन गर्दै आपसी समझदारीमा फिर्ता गरेको उल्लेख छ ।
होमस्टे दर्ता खुला गर्दा सहरी क्षेत्र तथा घना वस्तीमा गर्न नपाइने भन्ने व्यवस्था नभएकाले २०७३ मा संशोधित कार्यविधिमा यसलाई समेटिएको पर्यटन विभागका पूर्व निर्देशक दुर्गादत्त ढकालले बताए । उनले भने ‘सरकारले ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर ल्याएको यो कार्यविधिलाई समयसापेक्ष संशोधन गर्नुपर्ने आवश्यकता बढेको छ ।’, काठमाडौं आएका पर्यटकलाई होटलको सुविधा प्रशस्त हुने भएकाले होमस्टेको जरुरी छैन । गाउँमा जाँदा होटलको सुविधा नहुने र ग्रामीण संस्कृति र वस्तीको प्रवद्र्धन गर्न होमस्टे उपयुक्त हुने भएकाले पनि सहरबाहिर मात्रै प्राथमिकता दिने कुरा संशोधित कार्यविधिमा उल्लेख छ ।
सरकारले २०६७ मा ल्याएको होमस्टे कार्यविधिअनुसार हरेक होमस्टेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३५ दिनभित्र पर्यटक संख्या, प्रमुख क्रियाकलाप तथा व्यय देखिने वार्षिक प्रतिवेदन पर्यटन विभाग वा पर्यटन कार्यालयमा बुझाउनुपर्छ । यो व्यवस्थाअनुसार कुनै पनि होमस्टेले विवरण नबुझाएको पर्यटन विभागले जानकारी दिएको छ । कार्यविधिले प्रत्येक ५÷५ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ । कार्यविधिले व्यवस्था गरेको अनिवार्य नवीकरणलाई लत्याउँदै अवैधानिक रूपमा होमस्टे सञ्चालन भइरहेका छन् । कार्यविधिले पाँच वर्षको आय व्यायको विवरण राखेर होमस्टे नवीकरण गर्नुपर्छ ।
नेपालभर सञ्चालन भएका र पाँच वर्ष पुगेका सबैले अनिवार्य नवीकरण गर्नुपर्ने भए पनि सरकारी नियमन नै कमजोर भएकाले अवैधानिक हुन पुगेको होमस्टे एसोसिएसनका अध्यक्ष भीम केसीले बताए । उनले भने, ‘सरकारले एक घरले सञ्चालन गर्ने निजी र समुदायले सञ्चालन गरेकालाई एउटै नवीकरण दर रहेकोमा हामीले अव्यावहारिक भनेका छौं । तर, नवीकरण गरेर वैधानिक हुन नसकेकोमा भने सरकारी नियमन नै कमजोर देखिएको छ ।’ केसीका अनुसार निजी र सामूदायिकबाट लिने शुल्क फरक हुनुपर्ने, होमस्टेलाई वर्गीकरण गरेर राम्रोसँग सञ्चालन भएका र वार्षिक लाखौंको कारोबार गर्नेबाट कर लिन पनि सकिने तर्क केसीले दिए ।
कानुनअनुसार दर्ता गर्न रोक्नु भएन तर कर छल्न होटलको रूपमा ठमेलमै होमस्टे सञ्चालन गर्न दिने यसलाई अनुमगन गरेर नियमन गर्न नसक्नु सरकारको कमजोरी भएको तर्क केसीको छ । कार्यविधिले सहरी क्षेत्र, सहर र सहरवरिपरी होमस्टे सञ्चालनमा रोक नलगाएकाले जहाँ गए पनि कानूनी मापदण्ड पूरा गरेर सञ्चालन गर्नमा भने कहिबाट अवरोध हुन नहुने केसीले बताए ।
होमस्टे एसोसिसनका कोषाध्यक्ष सुरज बास्तोलाका अनुसार कार्यविधिअनुसार सबै होमस्टे नवीकरण हुनुपर्छ । सबैले मासिक तथा वार्षिक विवरण पनि बुझाउनुपर्छ । तर अवैधानिक रूपमा सञ्चालन भएको विषयमा सरकारी निकायले नै अनुगमन गर्नुपर्ने बुझाइ बास्तोलाको छ । उनका अनुसार हाल निजीले एकदेखि चारवटा कोठमासम्म राख्ने र सामूदायिकले ३२ वटा युनिटसम्म राखेर दर्ता गरेका छन् । हालसम्म सबैभन्दा बढी घरलाई समेटेर बनेको सामूदायिक होमस्टे गोरखाको बारपाक होमस्टे हो । यसमा ३२ वटा घरलाई समेटर सामूदायिक होमस्टे बनेको छ । अन्य सञ्चालनमा आएका र पर्यटकीय सेवा दृष्टिले चलेका होमस्टे बर्दियाको डल्ला, नवलपरासीको अमलटारी, लमजुङको घलेगाउँ, काभ्रेको पात्लेखेत, भक्तपुरको नगरकोट, मकवानपुरको चित्लाङलगायत छन् । यी सबै सामूदायिक होमस्टे हुन् ।-अन्नपुर्णपाेष्टबाट