नुवाकोट, २८ पुस । नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा प्रत्येक वर्ष गरिदै आएको गोरु जुधाउने मेला यस वर्ष पनि भव्य रुपमा गरिने भएको छ । यो वर्षको माघे संक्रान्तिमा नुवाकोटमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्षकाे माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।
माघेसङ्क्रान्तिमा नदी किनार र घाटमा स्नान गरी चाकु, घिउ, तरुल लगायत मिष्ठान्न भोजन गर्ने हिन्दू परम्पराका साथमा सदियौंदेखि नुवाकोटमा भने गोरु जुधाएर छुट्टै मनोरञ्जन लिइदै आएको छ ।
सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुकाको ऐतिहासिक महत्व बोकेको गोरु जुधाई मेला सञ्चालनको लागी सबै तयारी पूरा भएको मेला आयोजक समितिले बताएकाे छ । मेलामा सहभागी हुन सवारी साधन लिएर अाउनेका लागि साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्याङ्करमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ ।
गोरु जुधाईने मेलाको दिन अवलोकनकर्तालाई गोरु जुधाइनेस्थल चन्दनीसम्म अावत जावत सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घण्टा बन्द हुँदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराइने भएकाे छ ।
मेलामा विजेता गोरु धनीलाई नगद पाँच हजार र प्रमाणपत्र तथा उपविजेतालाई तीन हजार पुरस्कार तोकिएको छ । तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्पराबाट २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।
मेलामा जुधाइने गारुलार्इ एक वर्षदेखि जुधाउनका लागी पोषिला खाद्यवस्तु खुवाएर वलियो वनाइएका गोरुलाई एकैस्थानमा समेटेर जुधाइने गरिएको छ ।
तारुकाको चन्दनीको गोरु जुधाई मेला सदियौं पहिले मावली आएका वझाङी राजा जयपृथ्वीवहादुर सिहलाई मनोरञ्जन दिलाउने उद्देश्यले सुरु भएको वुढापाकाहरुको भनाई रहेको छ । तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्पराबाट ०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।
यस मेला अव राष्ट्रिय रुपमा चर्चित भइसकेको कारण स्थानीय पर्वको मात्र नभई राष्ट्रिय मेलाको रुपमा विकसित गरिनु पर्ने स्थानीय वृद्ध झमवहादुर प्रधानको भनाई छ ।
यस्तै, माघे संक्रान्तिकै दिन नुवाकोटकै विदुर नगरपालिका-१०, बेत्रावतीमा पनि गोरु जुधाउने गरिन्छ ।