प्रधानमन्त्री प्रचण्डसमक्ष मेयर प्रजापतिको माग : ‘फोहोर ब्यवस्थापनको जिम्मा निजीलाई नदिउँ’

अनलाइन दर्पण 2023-05-13
img

भक्तपुर । उपत्यकाका पालिकाहरुले फोहोर उठाउन निजी क्षेत्रलाई जिम्मा दिइरहेका बेला भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसको ब्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिनु नहुने बताएका छन् । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उनले सो माग राखेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुक्रबार उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे बसेको बैठकमा धारणा राख्दै उनले फोहोर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिन नहुुने कुरा कानुनमै स्पष्ट उल्लेख हुनुपर्ने बताए । फोहोर व्यवस्थापन सरकारको दायित्व भएको भन्दै प्रमुख प्रजापतिले फोहोर व्यवस्थापनबारे संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट भएको कानुनको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । फोहोर व्यवस्थापनबारे जिम्मेवारी बाँडफाँटमा कानुनी अस्पष्टता हुँदा काम गर्न गाह्रो भएको उनको भनाइ छ ।

उनले नगर घोषणा गर्नुअघि बसपार्क, विद्यालय, अस्पताल, पोखरी, फोहरमैला व्यवस्थापनलगायत सबैको बन्दोबस्त गर्नुपर्नेमा दलहरुले जथाभावी नगर घोषणाको परिणाम अहिले देशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनको समस्या भइरहेको टिप्पणी गरे ।

विश्वका विकसित देशहरुले फोहरलाई आम्दानीको स्रोत बनाइरहेका उदाहरणहरु प्रस्तुत गर्दै उनले सरकारले होटल, रेष्टुरेन्ट, उद्योग—कारखाना र अस्पतालहरुमा इन्सेनेरेटर प्रयोग गर्न सरकारले आवश्यक आर्थिक सहयोग गनुपर्ने स्पष्ट पारे ।

आफ्नो नगरमा फोहोर व्यवस्थापन निजी कम्पनीलाई नदिइएको उल्लेख गर्दै उनले नगरपालिकाले फोहरलाई स्रोतबाटै कम गर्ने उद्देश्यले कुहिने र नकुहिने फोहोर घर घरबाट अलग अलग संकलन गर्दै आफ्नै क्षेत्रभित्र फोहोर व्यवस्थापन गर्दै आइरहेको स्पष्ट पारे ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फोहोरलाई समस्याको रुपमा मात्र नभई ऊर्जा र उत्पादनको स्रोतको रुपमा लिने गरी व्यवस्थापन प्रयास भइरहेको प्रष्ट पारे ।

विभिन्न देशले अवलम्बन गरिरहेका फोहोर व्यवस्थापनका विधिहरु नेपालमा लागू गर्ने विषयमा पहल भैरहेको भन्दै उनले यसका लागि सामूहिक सहकार्यको आवश्यकता औल्याए ।सबैको संयुक्त प्रयासबाट यसको समाधानतर्फ लाग्नु आवश्यक भएको उनको भनाइ छ ।

उपत्यकाको फोहोर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जांदा यसले उपत्यकाबासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्ने विषयमा जारी वारेन्ट खारेज गर्ने र गिरफ्तार भएकाहरुलाई तत्काल छाड्ने आश्वासन समेत दिए ।

उनले फोहरमैला व्यवस्थापनको लागि १३ सदस्यीय समिति गठन तथा ६ सदस्यीय टास्क फोर्स गठन गरी १० दिनभित्रमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

बैठकमा ललितपुर महानगरपालिकाका लगायत उपत्यकाका पालिका प्रमुखहरुले फोहोर व्यवस्थापनमा सरकारको निर्देशन पालन गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

उक्त अवसरमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले उपत्यकाको फोहोर व्यवस्थापन नहुँदा रोगब्याधी व्यापक बढ्ने क्रम जारी रहेको बताउँदै फोहोर व्यवस्थापनको लागि आवश्यक तीन तहका सरकारबीच सहकार्य गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको प्रतिबद्धता प्रकट गरे ।

अर्थमन्त्री प्रकाशशरण महतले स्थानीय तहको फोहोर व्यवस्थापन आ—आफ्नै क्षेत्रभित्र गर्नेतर्फ ध्यानाकर्षण गराउँदै पीडितको यथोचित मागलाई केन्द्र सरकारले सम्बोधन गर्नुपर्ने धाराणा राखे ।

संघीय सांसद अर्जुननरसिंह केसीले फोहोर व्यवस्थापनबारे स्पष्ट कानुनको आवश्यकता औंल्याउँदै बन्चरेडाँडा र सिसडोलका जनताको समस्या समाधानमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले स्थानीय तहहरुले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गरी फोहोरमैला व्यवस्थापन आ—आफ्नै क्षेत्रभित्र गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले फोहोर व्यवस्थापनबारे जिम्मेवारी बाँडफाँटमा स्पष्टता नहुँदा काम गर्न बाधा पुगिरहेको बताउँदै अन्य देशहरुको अभ्यासलाई अवलम्बन गरी फोहोर व्यवस्थापनलाई सामान्य रुपमा लिई समस्या समाधानतर्फ सरकार अग्रसर हुनुपर्ने बताइन ।

त्यस्तै संघीय मामिला मन्त्री अमनलाल मोदी, बागमती प्रदेशसभा सदस्य मधुकुमार श्रेष्ठ, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, सहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, सहरी विकास मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका सचिवलगायतले पनि फोहोर व्यवस्थापन बारे धारणा राखेका थिए ।

सम्बन्धित समाचार

Advertisement