कुखुराको भाले बासेको विज्ञापन छापेपछि सरकार संटकमा

अनलाइन दर्पण 2018-02-21
img

एक विज्ञापनको विषयलाई लिएर मलेशिया सरकारको चर्को आलोचना भइरहेको छ। सरकारले लुनर नयाँ वर्षलाई भव्य रुपमा मनाउन एक पेजको विज्ञापन छापेको थियो, जसमा कुखुराको भाले बास्दै गरेको देखाइएको छ।

चिनियाँ राशी चक्रमा १२ वर्षलाई एक चक्र मानिन्छ। र, प्रत्येक वर्ष एक जनावरलाई देखाइन्छ। सोही क्रममा रुस्टर इयर (कुखुरो वर्ष) भर्खरै समाप्त भएको थियो र, अहिले डग इयर (कुकुर वर्ष) को सुरुवात भएको छ।

वाणिज्य मन्त्रालयले यो विज्ञापनको माध्यमबाट नागरिकलाई डग इयरको शुभकामना दिएको थियो। तर, विज्ञापनमा कुखुराको भालेलाई चिनियाँ भाषामा कुकुरको आवाजमा भुक्दै गरेको देखाइएको छ। मन्त्रालयले यसलाई प्राविधिक त्रुटि भन्दै खेद प्रकट गरेको बीबीसीले जनाएको छ।

सांस्कृतिक रुपमा मलेशियामा केही मुस्लिम समुदाय कुकुरलाई फोहोरी जनावर मान्छन्। यही हप्ता बेलायती समाचार संस्था रोयटर्सले मलेशियाका व्यापारिक संस्थानलाई कुकुरसँग जोडिएका प्रतिकको प्रयोग नगर्न सुझाव दिएको थियो। किनभने बहुसंख्यक मुस्लिम बाहुल्य रहेको देशमा यसको नकारात्मक प्रभाव पर्छ। मलेशियामा कुल जनसंख्याको एक चौथाइ जनसंख्या चिनियाँ जातिका मानिस छन्। चिनियाँ भाषाको सो पत्रिकामा प्रकाशित विज्ञापनमा कुकुरको फोटो प्रयोग नगर्ने कोशिस गरिएको विश्लेषकहरुको भनाइ छ।

सो विज्ञापनको विषयलाई लिएर सामाजिक संजालमा व्यापक विरोध भएको छ। सामाजिक संजाल प्रयोगकर्ताहरुले सरकारको सो दकमलाई मुर्खको संज्ञा दिएका छन्। र उनीहरुले सो कदमलाई ‘राष्ट्रिय लाज’ भनेका छन्।

अंग्रजी भाषाको पत्रिका ‘द स्टार’ ले मलेशियाली–चिनियाँ एसोसियशनका धार्मिक सद्भावना व्यूरोका प्रमुखको बयान छापेको छ। जसमा उनले भनेका छन्, ‘केही मानिसहरु सानो सानो गल्तीले चिनियाँ नागरिकलाई क्रुद्ध बनाउने कोशिश गरिरहेका छन्।’

दातुक सेरी ती लियानले पत्रिकासँग भनेका छन्, ‘खेद प्रकट गरिसकेपछि यो गल्तीलाई भुलाइ दिइएको छ। चिनियाँ समुदायमा यसलाई दिएर खासै आपत्ति देखिएन। किनभने चिनियाँ नागरिक व्यवहारिक र शान्त हुन्छन्।’ बीबीसी

सम्बन्धित समाचार

Advertisement