भक्तपुर, ६ चैत । आगामी चैत २३ गतेदेखि वैशाख ३ गतेसम्म भक्तपुरमा ११ दिने औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । चौंथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ नाम दिइएको मेला औद्योगिक शान्ति संस्था नेपाल र मध्यपुर बोइज व्याण्डको संयुक्त आयोजनामा भक्तपुरको सल्लाघारिस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी चौरमा आयोजना हुन लागेको हो ।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा भक्तपुरमा पहिलो औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको आयोजक औद्योगिक व्यापार मेलाका संयोजक दिपक थापाले जानकारी दिनुभयो ।
मेलामा दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्नका, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, भाँडाकुडाका लगायतका सामग्रीहरुको गरी करिब दुई सयभन्दा बढी स्टल रहने व्यवस्था मिलाइएको छ ।
त्यस्तै मेलामा अटोमोवाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाइल, इलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन्। मेलामा हरेक सामानको २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको जानकारी दिदै उहाँले मेलामाआउनेहरुका लागि इवामुरा अस्पताल सल्लाघारी भक्तपुरको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने थापाले बताउनुभयो ।
मध्यपुर बोइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले मेलामा बालउद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्यव्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति हुने आयोजकको दाबी छ ।
मेलामा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा १२ करोड रुपियाँको कारोबार हुने आयोजक संस्थाले जनाएको छ ।