बालेन र सुदनविरुद्ध नेविसंघको प्रहरीमा उजुरी

अनलाइन दर्पण 2025-10-12
img

२६ असोज, काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा उजुरी दिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनका क्रममा भएको अप्रिय घटनामा उनीहरू संलग्न रहेको भन्दै अनुसन्धान गर्न माग गरिएको हो। नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुर दुबै ठाउँमा उजुरी दर्ता गरेको जनाएको छ।

उजुरीमा आन्दोलनमा विद्यार्थीलाई उक्साएको, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गरी राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको आरोप लगाइएको छ।

उजुरी दिने मध्ये नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्। उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन्।

उजुरीकर्तामध्येका एक, अशोकसिंह विष्टले भने, "हामीले २४ घण्टाभित्र जवाफ चाहिएको माग गरेका छौं। प्रहरीले सरकारी वकिलसँग सल्लाह गरेर जानकारी गराउने भनिएको छ,"

यसअघि सुदन गुरुङसहितका युवाले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि जाहेरी दिएका थिए। त्यसपछि एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दर्ता गरेको थियो।

सम्बन्धित समाचार

Advertisement