गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा, संघीयताकाे खारेजी र भ्रष्टाचारको विरोधमा राजमोद्वारा आन्दोलन घोषणा

अनलाइन दर्पण 2020-12-06
img

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने भएको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा दुई चरणको आन्दोलन गर्ने अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ मङ्सिर २० गते जारी प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो ।

राजमोले गर्ने पहिलो चरणको कार्यक्रम प्रचारात्मक प्रकृतिको हुने छ । त्यसअन्तर्गत वक्तव्य, पर्चा, भर्चुअल अन्तरक्रिया, प्रशिक्षण, पत्रकार सम्मेलनजस्ता कार्यक्रम हुने बताइएको छ भने दोस्रो चरणको कार्यक्रम भौतिक दुरी कायम राखेर सभा, जुलुसजस्ता खुल्ला कार्यक्रम आयोजना गरिने छन् ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत आगामी मङ्सिर २२ गते राजमो केन्द्रीय कार्यालयको आयोजनामा भर्चुअल कार्यक्रम आयोजना गरिएको जानकारी प्रेसवक्तव्यमा दिइएको छ ।

वक्तव्यको पूर्ण पाठ यस्तो छ–

राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ भन्ने मूल नाराका साथ उक्त संघर्षका कार्यक्रमहरु संचालन गरिने छन् । कोभिड १९ को प्रतिकूल अवस्थामा पनि स्वास्थ्यका मापदण्ड अपनाउँदै संघर्षका कार्यक्रम संचालन गर्नुपर्ने राष्ट्रिय परिस्थिति सृजना भएको छ । संघर्षका कार्यक्रमहरु दुई चरणमा संचालन गर्ने निर्णय भएको छ ।

१. पहिलो चरणको संघर्षका कार्यक्रमहरुको प्रकृति प्रचारात्मक हुनेछ । त्यस अन्तरगत राष्ट्रिय जनमोर्चाको केन्द्र, प्रदेश र स्थानीय संगठनहरुको तर्फबाट संघर्षका कार्यक्रमको विषयमा प्रेस वक्तव्य दिने, पर्चा प्रकाशित तथा वितरण गर्ने, अनलाइनको माध्यमबाट अन्तरक्रिया, पत्रकार भेटघाट, प्रशिक्षण कार्यक्रम आदि संचालन गरिने छ । कोरोना भाइरसले पैदा गरेको स्थितिमाथि ध्यान दिएर नै यसप्रकारका कार्यक्रम संचालन गर्नु परेको छ । दोस्रो चरणमा सामाजिक दूरी कायम गर्दै खुला कार्यक्रम हुनेछन्  । जस अन्तरगत सभा, जुलुस, कोणसभा आदि कार्यक्रम संचालन गरिने छन् ।

२. राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा यही मंसिर २२ गते दिनको १ बजेदेखि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौँ भन्ने विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । उक्त अनलाइन अन्तरक्रिया कार्यक्रममा बाहिरबाट अतिथिहरुलाई पनि आमन्त्रण गरिने छ । अनलाइन जुमको लिंक खुला हुने भएकोेले सर्वसाधारणले पनि भाग लिन पाउने छन् । सो कार्यक्रममा भाग लिएर कार्यक्रमलाई सफल पारिदिनको लागि राष्ट्रिय जनमोर्चा हार्दिक अपील गर्दछ ।

३. आज देशमा प्रतिगामी शक्तिहरुको चलखेल बढेर गएको छ । देशका विभिन्न भागमा राजतन्त्रको पुनस्र्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् । गणतन्त्र र धर्म निरपेक्षताका विरुद्धमा हमला भैरहेको छ । २०१७ साल पौष १ गते र २०५९ माघ १९ को काण्ड पुनरावृत्ति नहोला भन्न सकिन्न । प्रतिगामी शक्तिहरुको त्यसप्रकारको गतिविधिहरुलाई हल्का रुपमा लिनु गम्भीर प्रकारको गल्ती, राजनीतिक अपरिपक्वता र अदूरदर्शीता तथा देश र जनताको  लागि अत्यन्त घातक हुनेछ भन्ने हाम्रो ठहर छ । यो अवस्थामा गणतन्त्र र धर्म निरपेक्षताको लागि अग्रगमनका पक्षधर शक्तिहरु सचेत र संगठित भइ प्रतिगामी शक्तिहरुका विरुद्ध संघर्ष गर्नु आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

४. भारतीय साम्राज्यवादद्वारा नेपालको लिपुलेक, कालापानी, लिम्पिाधुरा, सुस्ता महेशपुर लगायतका भूमि अतिक्रमण भएका छन् । अतिक्रमित भूमि फिर्ताको लागि, तराई विखण्डनका लागि भैरहेको पृथकतावादी गतिविधिहरुलाई निरुत्साहित पार्न र राष्ट्रियताको रक्षाको लागि संघर्ष गर्नुपर्ने आजको आवश्यकता भएको छ । 

५. हाम्रो पार्टीले शुरुदेखि नै संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने तथा नेपाली जनताले कुनै पनि आन्दोलनमा माग नगरेकोले यसको खारेजीको लागि संघर्ष गर्दै आएको छ । संघीयता खारेजीको लागि हाम्रो पार्टीले संसदमा प्रस्तावसमेत दर्ता गरेको छ । अब व्यवहारमा नै संघीयताका दुष्परिणामहरु देखा परिसकेका छन् । अहिले त्यो देशका लागि राष्ट्रघाती, विकासको लागि ठूलो बाधक, जनजीवनको लागि ठूलो हानीकारक सावित भइसकेको कुरा प्रष्ट हुँदै गएको छ । त्यसैले राष्ट्रको लागि आर्थिक बोझको रुपमा सावित भएको संघीयता तथा त्यसको प्रादेशिक संरचनालाई खारेज गर्न पनि संघर्ष गर्नुपर्ने आजको तत्कालिक आवश्यकता भएको छ ।

६. आज भ्रष्टाचार देशको गम्भीर समस्या बनेको छ । भ्रष्टाचारलाई संरक्षण गर्ने सरकारको नीतिको कारण यो अवस्थाको सृजना भएको हो । जसको कारण सरकारका सबै नीति, क्रियाकलापहरु, प्रशासनिक कार्य, विकासका कार्यक्रमहरु, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, शान्ति सुरक्षा आदि सबै क्षेत्रहरु नराम्ररी प्रभावित भएका छन् । त्यसको लागि हाम्रो पार्टीले भ्रष्टाचार विरुद्धको संघर्षमा विशेष जोड दिएको छ । 

७. हाम्रो पार्टीले उल्लेखित संघर्षका कार्यक्रमहरु एकल रुपमा र मिल्न सक्ने विषयहरुमा अन्य पक्षहरुसँग संयुक्त रुपमा संचालन गर्न सक्ने छ ।

८. पहिलो चरणका संघर्षका कार्यक्रमहरु तत्काल शुरु गरिने छन् भने दोस्रो चरणको संघर्षको कार्यक्रमको मिति पछि कार्यालयद्वारा ठेगान गरी जानकारी गराइने छ ।

९. अन्तमा राष्ट्र र जनताको सामु देखापरेका गम्भीर चुनौतिको सामना गर्न हाम्रो पार्टीले घोषणा गरेको गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्षमा ब्यापक समर्थन र सहभागिताको लागि सम्पूर्ण तह र तप्काका जनसमुदायसँग हार्दिक अपील गर्दछ ।

मिति  २०७७ मंसिर २०

चित्रबहादुर के.सी.

अध्यक्ष

सम्बन्धित समाचार

Advertisement