रामेछापमा २० वर्षिय युवकद्वारा १६ वर्षिया किशोरीकाे हत्या, यस्तो छ नालीबेली…

अनलाइन दर्पण 2017-10-11
img

बारीमा घाँस काटेकै निहुँमा छिमेकी २० वर्षिय राजन कार्कीबाट १६ वर्षिया अम्बिका बस्नेतको हत्या हुन्छ भन्ने कुरा न परिवारले सोचेका थिए न त छिमेकिहरुले नै ।

डोको–नाम्लो बोकेर असोज १७ गते दिउँसो ३ बजे वस्तु बाँध्ने गोठ नजिकै घाँस काट्न गएकी बस्नेत राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारमा ठूलै कोलाहल मच्चियो । घर छाडेर कहिल्यै कतै नगएकी छोरी घाँस काट्न बारीतिर गएकोमा रातको अबेरसम्म पनि घर नफर्किएपछि चिन्ता हुनु स्वाभाविक नै थियो ।

छिमेकीहरु समेत मिलेर सम्भावित ठाउँमा रातभरि खोज्दा पनि कतै पत्तो लाग्न नसकेपछि परिवारले मात्र होइन, छिमेकीहरुले समेत विभिन्न शङ्का–उपशङ्का गर्न थाले । भोलिपल्ट असोज १८ गते बिहानै गाउँलेहरु गोठदेखि तल पलातीस्थित खिम्ती खोलासम्म खोज्दै गए ।

अम्बिकाकाको मृत शरीर खोलानजिकै विभत्स अवस्थामा फेला परेपछि गाउँलेहरुले तत्काल गोकुलगङ्गा गाउँपालिकाको बेतालीस्थित प्रहरी चौकीमा  खबर गरे । केही समयमा नै घटनास्थल पुगेर लाशको प्रकृति हेरेपछि हत्या गरेर फालिएको निष्कर्षमा पुग्यो प्रहरी ।

प्रहरी चौकी इन्चार्ज असर्इ नागेन्द्र महतोले सोही व्यहोरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार थापालार्इ जानकारी गराए । जिल्लाको आदेश वमोजिम अनुसन्धानतिर लाग्यो प्रहरी ।

आशङ्का गरिएका केही स्थानीवासीहरुमाथि निगरानी बढाउँदै प्रहरीले अनुसन्धान तीब्र बनायो । प्रहरी अनुसन्धानका क्रममा छिमेकी यामबहादुर कार्कीका छोरा राजनले अनौठो व्यवहार देखाएपछि प्रहरीको शङ्का कार्कीतिरै मोडियो । प्रहरीका अगाडि आफूलार्इ केही थाहा नभएजस्तो नक्कल गरे पनि प्रहरीको अप्रत्यक्ष घेराबन्दीमा परे राजन ।

स्थानीयहरुको भनाइ अनुसार घटनास्थल वरिपरी कार्कीकै तीब्र आवतजावत थियो ।  हरेक शङ्कास्पद गतिविधिको आधारमा सोधपुछका लागि भन्दै असोज १९ गते प्रहरीले अम्बिकाको छिमेकी राजन कार्कीलाइ पक्राउ गर्‍यो ।

काठमाणडौं बस्दै आएका राजन केही समय अगाडि मात्र बुबा यामबहादुर बिरामी भएपछि बेताली आएका थिए । पक्राउ परेको केही समयमै आफूले नै हत्या गरेको कार्कीले स्वीकार गरेपछि गाउँलेहरु छक्क परे ।

यसरी गरे राजनले अम्बिकाको विभत्स हत्या…

गोकुलगङगा गाउँपालिका– ४, बेतालीस्थित जनजागृत उच्च माध्यामिक विद्यालयमा कक्षा– ९ मा अध्यन गर्ने अम्बिका सधैं झैं डोको–नाम्लो बोकेर गोठनजिकै घाँस काटन गएकी थिइन् । यामबहादुरको बारी पनि सोही ठाउँमा छ । बारी रेखदेख गर्नका लागि उनका छोरा राजन पनि त्यतै गएका थिए ।

राजनले बताएअनुसार उनका बाबुले कमाएको बारीमा अम्बिकाले मज्जाले घाँस काटिरहेकी थिइन् । त्यस्तो देखेपछि राजनले अम्बिकालाई त्यहाँ घाँस नकाट्न चेतावनी दिए । तर, अम्बिकाले मानिनन् । अम्बिकाले जबर्जस्ती घाँस काटिरहेपछि भनाभन सुरु भयो ।

भनाभन उत्कर्षमा पुगेपछि राजनलाइ धेरै नै रिस उठ्यो । त्यसपछि राजन अम्बिकाको नजिककै पुगेर घाँटीमा समाइदिए, कठालोमा समातेर कान्लाबाट गुल्ट्याइदिए । राजनले प्रहरीलार्इ दिएको बयान अनुसार उनी कान्लाबाट गुल्टेपछि टाउकामा चोट लागेर बेहोस भइन् ।

सास बाँकी छ कि भनेर राजनले छाम्ने प्रयास पनि गरे । तर, टाउकामा गहिरो चोट लागेर पूरै बेहोस भएकी अम्बिकाको कतै ढुकढुक चलेको थिएन । त्यसपछि  आफूले मारेको थाहा हुने डरका कारण राजनले अम्बिकालार्इ घिसार्दै पलाती नजिकै खिम्ती खोलामा लगेर बगाइदिए  ।

गाउँले र प्रहरी घटनास्थल पुग्दा अम्बिकाको लास क्षतविक्षत अवस्थामा थियो । उनले लगाएका कपडा समेत अस्तव्यस्त देखिएपछि सबैले बलात्कारपछि अम्बिकाको हत्या भएको अनुमान लगाउन थाले । तर, अभियुक्त राजन भने बलात्कार नगरेको बताउँछन् । कान्लाबाट हुत्याइदिएपछि उनी बेहोस भएको र घिसार्दै लगेर खोलानजिकै फ्याँकिदिएको बयान उनले प्रहरी समक्ष दिएका छन् ।

घटना प्रकृति हेर्दा बलात्कार समेत भएको हुन सक्ने आशङ्का गर्दै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जनाएको छ । अभियुक्त राजनले हत्या गरेको स्वीकारेकाले कानुनवमोजिम मुद्दा चलाउन लागिएको प्रहरी निरीक्षक रामकुमार थापाले जानकारी दिएका छन् ।

अपराधीमाथि कडा कारबाही गर्न स्थानीयको माग

अभियुक्त राजनलार्इ कडाभन्दा कडा कारबाही गर्न गाउँलेहरुले माग गरेका छन् ।  बेतालीका कतिपय आक्रोशित युवाहरुले ज्यानको बदला ज्यान नै लिनुपर्ने समेत माग गरिरहेका छन् । घाँस काटेको निहुँ मात्र नभर्इ  बलत्कार नै गरी हत्या गरिएको दाबी गर्दै घटनाको थप अनुसन्धान गर्नुपर्ने गाउँलेहरुको माग छ ।

बेतालीकै स्थानीय युवा तथा एमाले नेता उद्धव कार्कीले  घटना घाँस काटेको मात्र नभर्इ योजना अनुसार नै घटाइएको दाबी गरेका छन् । अभियुक्तमाथि कडा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

‘वास्तवमै यो दुःखद् वारदात गोकुलगङ्गा गाउँपालिकाकै पहिलो घटना हो’, घटनाको योजना र उद्देश्य घाँस काटेको भन्दा फरक हुन सक्ने बताउँदै उनले भने– ‘यो घटनाले हामी सम्पूर्ण गाउँबासीहरुलार्इ स्तब्ध तुल्याएको छ त्यसैले घटनाको पूरै गहिराइमा पुगी अध्ययन गरियोस् र सत्यतथ्य बाहिर ल्यार्इ अभियुक्तमाथि हदैसम्म कडा कारबाही गरियोस् ।’

बेताली– ४ का वडाअध्यक्ष देवराज कार्कीले पनि हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै अभियुक्तमाथि कडा कारबाही हुनुपर्ने बताए । प्रहरीले अभियुक्त राजन कार्कीलार्इ सार्वजनिक गरेपछि खुशी व्यक्त गर्दै वडाअध्यक्ष कार्कीले फेसबुकमा स्ट्याटस समेत लेखेका छन् । न्युजकोसेलीबाट

सम्बन्धित समाचार

Advertisement