काठमाडौं, ७ फागुन । कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ । महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन् ।
संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन् । स्रोतका अनुसार महामन्त्री कोइराला सर्वसम्मत हुने अवस्थामा अघि सर्ने मनस्थितिमा छन् । सिंह भने देउवासँग चुनावी प्रतिस्पर्धामै उत्रिन तयार छन् ।
समानुपातिकतर्फका सांसदको टुंगो लागेपछि कांग्रेसमा दलको नेता छान्ने गृहकार्य अघि बढेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसका ६३ सांसद छन् ।
जसमध्ये सभापति शेरबहादुर देउवा पक्ष संसदीय दलमा सहज बहुमतमा देखिएको छ । दलको नेता बन्न ३२ मत (बहुमत) आवश्यक पर्छ । तर, देउवा पक्षमा प्रत्यक्षका ११ र समानुपातिकका २९ गरी ४० सांसद छन् ।
पौडेल पक्षबाट प्रत्यक्षमा नौ र समानुपातिकमा १० गरी १९ सांसद छन् । प्रत्यक्षमा तीन सिट जितेको सिटौला पक्षका समानुपातिक सांसद छैनन् । सहमति नभई भोटिङ हुने अवस्थामा पौडेल पक्ष सहजै पराजित हुने देखिन्छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संघीय संसद्का सांसदले शपथ लिएपछि मात्र कांग्रेसले दलको नेता चयन गर्नेछ ।
‘कांग्रेस सांसदहरूले शपथ लिएपछि मात्र उनीहरू दलको नेता छान्न योग्य हुन्छन् भन्ने पक्षमा छ,’ शर्माले भने, ‘अरूले सांसदको शपथसमेत नलिईकन दलको नेता छाने पनि हामी सांसदले शपथ लिएपछि मात्र दलको नेता चयनको प्रक्रिया थाल्छौँ ।’
केन्द्रीय सदस्य कल्याण गुरुङले पौडेल पक्षले दलको नेतामा सर्वसम्मतका लागि महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने बताए ।
पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मतमा नेता चयन हुने अवस्था नरहेको उनको दाबी छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा गुरुङले भने, ‘निर्वाचनमा प्राप्त भएको जनमतले पार्टी सभापति शेरबहादुर देउवा दलको नेता बन्ने अवस्था नरहेकाले उहाँ उठ्नुहुन्न, बरु सर्वसम्मतिका लागि शशांक कोइराला अघि सर्नुपर्छ भन्ने हाम्रो आग्रह छ, चुनाव लड्ने हो भने प्रकाशमान सिंहले आफैं उठ्छु भन्नुभएको छ ।’
देउवा डडेल्धुरा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, सीताराम मेहता सुनसरी २, विजयकुमार गच्छदार सुनसरी ३, पदीप गिरी सिरहा १, रसुवा मोहन आचायर्, सर्लाही ४ अमरेशकुमार सिंह, रूपन्देही ५ भरत शाह, नवलपरासी २ देवेन्द्रराज कँडेल, रूपन्देही ४ प्रमोदकुमार यादव र कपिलवस्तु ३ अभिषेकप्रताप शाह विजयी भएका छन् ।
काठमाडौं १ प्रकाशमान सिंह, नवलपुर १ डा. शशांक कोइराला, मोरङ २ डा. मिनेन्द्र रिजाल, उदयपुर १ डा. नारायण खड्का, काठमाडौं १० राजन केसी, रौतहट २ अफताव आलम, रौतहट ४ देवीप्रसाद तिमल्सिना, सप्तरी ४ तेजुलाल चौधरी, बर्दिया १ सञ्जय गौतम छन् ।
यी हुन् प्रत्यक्षमा सिटौला पक्षका विजयी तीनजना बारा १ उमाकान्त चौधरी, काठमाडौं ४ गगनकुमार थापा र काठमाडौं ६ भीमसेनदास प्रधान सिटौला पक्षका नेता हुन् ।आजको नयाँ पत्रिकामा खबर छ ।