काठमाडौँ । दैलेखको चण्डामुण्डा नगरपालिका चिमेका सूर्यबहादुर राउतले श्रीमतीलाई मानसिक र शारीरिक हिंसा गर्न थालेको लामो समय भयो ।
अन्ततः डम्बर बहादुरले रक्सी खाएर आफ्नी श्रीमती डम्बर कुमारीलाई हस्पिटल नै भर्ना हुने गरी कुटपिट गरे । गएको शुक्रबार सूर्य बहादुर रिसको झोकमा कुटपिट गर्दै श्रीमतीलाई आगो फुक्ने पाइपको ढुंग्रोले गुप्ताङ्गमा घोचेर गम्भीर घाइते बनाए । यसअघि पनि सूर्य बहादुरले रक्सी खाएर श्रीमतीलाई कुटपिट गरिरहन्थे ।
व्यापारको सिलसिलामा भैरवी गाउँपालिका–४ जडाजीउलामा बस्दै आएका सूर्य बहादुरले घर आउँदा सधैँ झगडा र कुटपिट गर्दै आएको श्रीमती डम्बर कुमारीले बताइन् ।
३६ वर्षीय डम्बर कुमारीको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनलाई शुक्रबार नै छिमेकीले उद्धार गरेका थिए । ४० बर्षिय सूर्य बहादुरलाई सोही दिन नै प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले बताए । उनीहरूका दुई छोरा र दुई छोरी छन् ।
गएको पुसमा बझाङको मष्टा गाउँपालिका ५ द्धारीका भरत ओखेडाले श्रीमतीलाई कुटपिट गरेकै कारण जेल जानुप¥यो । ५ वर्षदेखी श्रीमतीलाई कुटपिट र मानसिक यातना दिदैँ आएका भरतलाई श्रीमती सुमित्राले उजुरी दिएसगैँ प्रहरीले पक्राउ गर्यो । प्रहरीले उनलाई कारागार चलान ग¥यो ।
मदिरा सेवन गरेर भरतले श्रीमतीलाई घरायसी विवादकै कारण कुटपिट गर्दै बायाँ हात भाँचिदिएका थिए । सुमित्रा बिहानै चैनपुरको महिला अधिकार मञ्चमा न्याय खोज्दै पुगेकी थिइन् ।
अधिकार मञ्चका कर्मचारीहरूले उजुरी लेख्न लगाएर प्रहरीलाई दिएपछि त्यसको भोली पल्ट प्रहरीको टोली रिलुको द्धारीमा पुगेर भरतलाई प्रक्राउ गरेको थियो । सार्वजनिक मुद्दा लागेका भरतलाई जिल्ला प्रशासन कार्यालयले १३ सय धरौटी मागेर रिहा गर्ने निर्णय गरे पनि १३ सय रुपैयाँ धरौटी रकम तिर्न नसक्दा उनी कारागार चलान भएका थिए ।
यसरी पछिल्लो समय श्रीमानबाटै पीडित हुने महिलाको संख्या बढ्दो छ । महानगरीय प्रहरी परिसर काठमाडौं महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीका अनुसार काठमाडौंमा समेत महिलाहरू श्रीमानबाटै पीडित हुने दर बढ्दो छ ।
आर्थिक वर्ष ०७३\७४ मा १ हजार ७ सय ७१ महिलाहरू आफ्नै श्रीमानबाट पीडित थिए । यस्तै ०७२\०७३ मा भने १ हजार ४ सय २९ जना महिला श्रीमानबाट पीडित भएको पाइएको थियो ।
पहिले वा हाल विवाहित भएका महिलाहरू मध्ये एक–चौथाई भन्दा बढि अर्थात् २६ प्रतिशत महिला आफ्नो श्रीमान्बाटै हिंसा (शारीरिक, यौनजन्य वा भावनात्मक हिंसा) को अनुभव गर्ने गरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका लागि ‘न्यु एरा’ ले गरेको सर्वेक्षणअनुसार पहिल्यै विवाहित भएका १४ प्रतिशत महिलाहरूले गएको वर्ष आफ्नै श्रीमान्बाट दाम्पत्य हिंसा भएको बताएका थिए । दाम्पत्य हिंसाहरूमध्ये शारिरीक हिंसा नै २३ प्रतिशत हुने गरेको पाइएको छ ।
यस्तै नेपालमा १० मा ३ महिला र २३ प्रतिशत पुरुषहरूले कुनै पनि अवस्था भएमा श्रीमान्ले श्रीमतीलाई पिट्नु ठिक हो भन्ने सोचाई राख्ने गरेको पाइएको छ । सोही अध्ययनमा यस्तो तथ्य पाइएको हो ।
अध्ययनका क्रममा ‘श्रीमतीले खाना डढाएमा’, ‘श्रीमान्सँग तर्क गरेमा’, ‘श्रीमान्लाई नभनिकन बाहिर गएमा’, ‘बच्चालाई वास्ता नगरेमा’ वा ‘श्रीमान्सँग यौन सम्पर्क राख्न नमानेमा’ चौबिस प्रतिशत महिला र १९ प्रतिशत पुरुषहरूले यदि श्रीमतीले बच्चालाई वास्ता नगरेमा श्रीमान्ले श्रीमती पिट्नु ठीक हो भन्ने सोचाईमा सहमति जनाएको पाइएको थियो ।
यस्तै नेपालमा ७ प्रतिशत महिलाहरूले आफ्नो जीवनको कुनै न कुनै समयमा यौनजन्य हिंसाको अनुभब गरेको बताएका छन् । जसमध्ये ३ प्रतिशत महिलाहरूले १ वर्षमा यौनजन्य हिंसाको अनुभव गरेको बताएका छन् ।
यौनजन्य हिंसाको सिकार भएका विवाहित महिलाहरूमध्ये धेरैले (८० प्रतिशत) हालको श्रीमान्बाट नै यौनजन्य हिंसा हुने गरेको बताएका थिए ।
शाीरिक वा यौन हिंसा भोगेका महिलाहरू मध्ये ५ मा १ ले सो हिंसा रोक्न अरुबाट सहयोग लिनको लागि खोजी गरेका थिए । यद्यपी, दुई– तिहाई महिलाहरूले कसैबाट पनि मद्दतको लागि कहिल्यै खोजी पनि गरेनन् र कसैलाई पनि बताएका थिएनन् । शारीरिक तथा यौन हिंसा भोगेका महिलाहरूलाई प्रायजसो आफ्नै परिवार (६५ प्रतिशत) र छिमेकीहरू (३१ प्रतिशत) बाट नै सहयोग हुने गरेको पाइएको छ ।–महिला खबरबाट