मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्नू : महावीर पुन

अनलाइन दर्पण 2025-09-22
img

६ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका विज्ञ महावीर पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

फेसबुकमा पहिलो घोषणा गर्दै पुनले भनेका छन्, “मलाई मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला।”

उनले बधाई दिन फोन नगर्न, खादा र माला लिएर नआउन आग्रह गर्दै, बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको छोटो अवधिमा गर्न सकिने र गर्नैपर्ने ठोस सुझावहरू पठाउन आग्रह गरेका छन्।

पुनले नागरिकलाई सोझै संलग्न गराउने उद्देश्यले सुझाव र आइडियाहरू ह्वाट्स एपमार्फत सेयर गर्न आग्रह गरेका छन्।

सामाजिक अभियन्ता र आविष्कारकका रूपमा चिनिएका पुन विगत लामो समयदेखि ग्रामीण क्षेत्रमा प्रविधि र नवप्रवर्तनलाई जीवन्त बनाउन सक्रिय रहँदै आएका छन्। मन्त्री पदको सिफारिसपछि पनि उनको विनम्रता र व्यवहारिक सोचले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

सम्बन्धित समाचार

Advertisement