१९ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट आन्दोलनलाई स्थायी एकतामा बाँध्न सबै वामपन्थी शक्तिहरूलाई आह्वान गरेका छन्।
काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै उनले विगतका फुटफारले आन्दोलन कमजोर बनाएको भन्दै अब कहिल्यै नफुट्ने प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
खनालले भने,
“आज यहाँ एकताको भावनाका साथ जम्मा हुनुभएका सबै घटकहरूलाई म भन्न चाहन्छु — अब हामी कहिल्यै फुट्ने छैनौं। यो संकल्पका साथ अघि बढौं।”
उनले स्मरण गरे कि विगतमा पनि पटक–पटक एकताको प्रयास भएका थिए, तर त्यसलाई दीर्घकालीन रूपमा टिकाउन नसक्दा ‘ए बेग्लै भयो, कता कता भयो’ जस्ता अवस्थाहरू सिर्जना भए।
खनालले थपे,
“अरु धेरै कम्युनिस्ट पार्टीहरू अझै पनि बाहिर छन्। म ती सबैलाई पनि भन्न चाहन्छु — नयाँ ढंगले सोचौं, नयाँ ढंगले अघि बढौं।”
उनले कम्युनिस्टबीच परस्पर आरोप–प्रत्यारोप र प्रतिस्पर्धाको संस्कृतिले आन्दोलनलाई कमजोर बनाएको भन्दै सहकार्य, सहिष्णुता र आपसी विश्वासको भावना विकास गर्न आग्रह गरे।
खनालका अनुसार, नेपाली कम्युनिस्टहरूबीचको सहकार्यले मात्रै देशमा स्थायित्व, विकास र सामाजिक न्यायको सपना साकार हुन सक्छ।