भक्तपुर । सूर्यविनायक नगरपालिका–९ स्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ। विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगदसहित सम्मान गरेको हो।
विद्यालयमा आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गर्नुभयो। विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले छात्रा शिल्पकारलाई ५० हजार रुपैयाँ तथा छात्रा सरिना लामालाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी, सत्यशक्ति पुस्तक भण्डारका महेश थापा र विद्यालयका सह–प्राचार्य राधेश्याम केसीले रोहिणी शिल्पकारलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको थियो। यससँगै रोहिणीले कुल ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।
कार्यक्रममा विद्यालयका प्राचार्य सञ्जय खड्काले विद्यार्थीको सफलतामा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको सहयोग समान रूपमा महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका अनुसार कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो। साथै, विद्यार्थीको सफलताका लागि योगदान पुर्याउने शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
मदरल्याण्ड स्कुलले यस वर्षको एसईई नतिजालाई विद्यालयको गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै विद्यार्थीको क्षमता विकास र शैक्षिक उत्कृष्टतालाई थप सुदृढ बनाउने जनाएको छ।