बाँके, ९ फागुन । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक भएको छ ।
मध्यपश्चिम खेलकुद विकास समितिले विसं २०७५ सालको मंसिरमा नेपालगञ्जमा हुने उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले लोगो, गीत, नारा र मस्कट सार्वजनिक गर्नुभएको हो ।
आठौँ राष्ट्रिय खेलकुदको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय भएको छ ।
यसैबीच बाँकेको खजुरा गाउँपालिका सीतापुरमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेल सञ्चालन गर्ने गरी सुविधा सम्पन्न भलिबल रंगशाला बन्ने भएको छ । सो रंगशालाको मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले शिलान्यास गर्नुभएको थियो।