काठमाडौं, २० भदौ । एएफसी एसियन कपको छनौट चरण अन्तर्गत सातदोवाटोस्थित एन्फा मैदानमा सम्पन्न तेस्रो खेलमा ताजिकिस्तानसँग नेपालले घरेलु मैदानमै पराजय ब्यहोरेको छ । नेपालले खेलको नतिजा २-१ ले ताजिकिस्तानलाई सुम्पियो ।
पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको नेपालले काठमाडौंमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो ।
खेलमा रक्षापंक्तिको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको ३० मिनेटभित्रै २ गोलले पछि परेको थियो । उक्त खेलमा स्ट्राइकर बिमल घर्तीमगर र मिडफिल्डर बिक्रम लामा सुरुवाती टोलीमा परेन ।
खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् ।
पहिलो हाफको गल्तिलार्इ तुलनात्मक रुपमा सुधार गर्दै नेपालले ६१औं मिनेटमा १ गोल फर्काउन सफल भयो । मिडफिल्डर अञ्जन विष्टको पासमा सब्सिच्युड स्ट्राइकर बिमल घर्तीमगरले उत्कृष्ट गोल गरेका थिए ।
एसियन कप छनौटको तेस्रो चरणको समूह एफमा रहेको नेपाल तीन खेलबाट १ अंक बटुल्दै समूहको चौथो स्थानमा झरेको छ । नेपाललाई हराउँदै ताजिकिस्तान ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । समूहको पहिलो स्थानमा फिलिपिन्स र दोस्रो स्थानमा यमन छन् ।