ह्वीलचियर रेस सम्पन्न 

अनलाइन दर्पण 2017-09-23
img

ललितपुर, ७ असोज । सेन्ट जेभियर्स सामाजिक सेवा केन्द्रको आयोजनामा सेन्ट जेभियर्स ह्वीलचियर रेस प्रतियोगिता सम्पन्न भएको छ ।

सामाजिक सेवा दिवस, विजया दशमी तथा दीपावलीको अवसर पारी अपाङ्गता भएका व्यक्तिहरुमा भएको आफ्नो क्षमतालाई सबै सामु उजागर गर्न एवं अपाङ्गताका साथसाथै आफुमा भएको फरक क्षमता समाजमा चेतना गराई प्रमाणित गर्न “मानवताको गन्तव्य अपाङ्ग भेदभावको अन्त्य” भन्ने मूल नारा र अन्य विभिन्न नारासहित पचास जना महिला र पुरुषको सहभागीतामा शनिबार प्रतियोगिता सम्पन्न भएको हो । 

जावलाखेलबाट सुरु भएको सो रेस मानभवन, कुमारीपाटी, पाटन हस्पिटल, लगनखेल हुँदै फेरी जावलाखेलमै आई टुंगिएको रेसमा पुरुषतर्फ प्रेम वि.क., रमेश खत्री र भरत बि.सी. क्रमशः पहिलो दोस्रो र तेस्रो हुन सफल भए भने महिला तर्फ यमी मगर, रजनी राई र लाली तामाङ्ग क्रमशः पहिलो तेस्रो हुन सफल भएका थिए । 

प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ह्वीलचियर प्रयोगकर्तालाई आवतजावतका लागि विभिन्न कठिनाईहरु भोगी रहनु परेको कुरा मनन गरी त्यसको लागि महानगरमा थप अपाङ्गमैत्री बसको व्यवस्था गर्ने बताउनुभयो । 

साथै कार्यक्रममा बोल्दै ललितपुरका सिडिओ महादेव पन्थीले यस्तो किसिमको फरक कार्यक्रममा उपस्थित हुनपाउँदा खुशी खुसी ब्यक्त गर्दै हाम्रो खुट्टा, हाम्रो हात, तपाईहरुको बलियो साथ भन्ने नारालाई पनि सबै सामु जोडदारका साथ व्यक्त गर्दै भविष्यमा पनि आफ्नोतर्फबाट साथ र सहयोग रहने बताए । 

त्यसैगरी प्रतियोगिताका संयोजक हरि दाहालले संस्थाले विगत ४६ वर्ष देखि अनाथ, गरिब र जेहेन्दार बालबालिका तथा अपाङ्गताभएका व्यक्तिहरुलाई खान, बस्न तथा शिक्षा प्रदान गर्दै आइरहेका छ । यस संस्थामा बस्ने अपाङ्ग भाइहरुले विभिन्न खेलकुद प्रतियोगितामा भाग लिई मेडल, प्रमाण पत्रहरु जितेको देख्दा साह्रै खुशी ब्यक्त गर्नुभयो । 

विजयी महिला तथा पुरुष खेलाडीहरुलाई अतिथिहरुको हातबाट पन्ध्र, दश र पाँच हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । 

 

सम्बन्धित समाचार